कुमरोजमा जिप सफारी पुनः सञ्चालन

पोखरा न्युज –

पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ ।

विभिन्न क्षेत्रमा बाढीले बगाएको सडक मर्मतपछि पर्यटकका लागि जिप सफारी सञ्चालनमा आएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो ।

सामुदायिक वनले करिब रु दुई लाखको लागतमा सडक मर्मत गरेर सफारी अवरुद्ध भएको जिप सञ्चालनमा ल्याएको हो । गएको साउन २८ गते राति राप्ती नदीमा आएको बाढीले यहाँका विभिन्न बस्ती डुबानसँगै पर्यटन मार्गका विभिन्न क्षेत्र बगाएको थियो । अहिले यहाँ पाँच वटासम्म जिपमा पर्यटकले सफारी गर्ने गरेका छन् ।

कुमरोजभित्र जंगल क्षेत्रको एउटा रुटमा जिप सफारी शुरु भएको र अर्को रुट सञ्चालनका लागि अझै समय लाग्ने छ । राप्ती नदीको ड्याक क्षेत्रमा बढी क्षति भएकाले दोस्रो रुटमा सफारी सञ्चालन गर्न समय लाग्ने नेपालले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जपछि जिप सफारी शुरु भएको कुमरोजमा पछिल्लो समयमा पर्यटकको आकर्षण बढ्दै गएको छ । गएको पुसदेखि शुरु भएको जिप सफारीबाट मात्रै अहिलेसम्म यहाँ रु ३० लाखको आम्दानी भएको सामुदायिक वनले जनाएको छ । यहाँ हात्ती सफारीसमेत सञ्चालन हुँदै आएको छ । सामुदायिक वनको मुख्य आम्दानी नै पर्यापर्यटन रहेको वनका अध्यक्ष हीराबहादुर गुरुङ बताउनुहुन्छ ।

कुमरोजमा पछिल्लो समयमा बाघ गैँंडाको बासस्थान राम्रो हुँदैगएकाले वन्यजन्तु अवलोनका लागि पर्यटक कुमरोज जाने गरेका छन् । कुमरोजमा दुईवटा मचान निर्माण गरिएकाले रातमा मचानमा बसेर वन्यजन्तु अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । यहाँ थारु, दराई र गुरुङ होमस्टे (घरबास) सञ्चालन गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button