जब उनको आँखामा आँशु छचल्किए

पोखरा न्युज, केशव पाठक ।

उमेरले भर्खरै १७ वर्ष । खाँउ–खाँउ लाँउ–लाँउ भन्ने अवस्था । साथी भाई संग मज्जाले खेलौ दौडौ भन्ने उमेर । तर उनको दुवै खुट्टा छैनन् । घुँडा भन्दा मुनी अपाङ्गता भएकी किशोरी हुन, बाग्लुङकी गिता मल्ल । कक्षा ११ मा पढदैछिन उनी बाग्लुङको विद्या मन्दिरमा । उनले कक्षा १ देखि ५ सम्म गाँउमानै पढिन् ।

पढाइमा मेहनती छात्रा गिताकी आमाले स्कुलको बेञ्चमा लगेर राखेपछि कहिल्यै उठथिनन् उनि । विद्यालय समयभर त्यही बेञ्चमानै बस्थिन उनि ।  उनको त्यो क्षमतावारे शिक्षकले थाहा नपाएका होइनन् पनि । ‘मानव शरिर त्यही पनि बाल्य उमेर दिशा पिसाव लाग्दो हो तर उनले कहिल्यै शौचालय जान्छु भनिनन्’ त्यस क्षेत्रमा कार्यरत स्रोत व्यक्ती ढक पुनले बताए । उत्कृष्ट अंकमा एसइइ पास गरेकी उनले एसइइ पास गर्दा सम्म कहिल्यै शौचलयका लागि नगएको वा कसैले नलगिदिएको पुनले सुनेको बताए । उनको यो अवस्था देखेर सबैलाई माया नलागेको पनि होइन ।

५ सन्तान मध्येकी गिताका बुबा हेम मल्ल कतार गएको पनि ४ वर्ष भयो । तर उनको अत्तो पत्तो छैन । आर्थिक अवस्थाले कमजोर गिताकी आमा धनकुमारीले दुःख जेलो गरेर ५ सन्तानलाई शिक्षा दिलाएकी छिन् । होटलमा भाँडा माझेर अनि मजदुरी गरेर । बाग्लुङ पश्चिम विकट गाँउ देवीस्थानकी उनी कक्षा ६ बाट पढन बाग्लुङ सदरमुकाम आइन । कक्षा कोठा छिरे पछि बिहान भरि त्यही बेञ्चमा थपक्कै बस्नु पर्ने बाध्यता । विद्यालयले उनको परिवारको अवस्थालाई मध्येनजर गर्दै दुई जना लाई निशुल्क होस्टेलको सुविधा उपलव्ध गराएको छ । तर गिताको बेञ्चमा एकनासले बस्नुपर्ने अवस्था दोहोरिएकै छ ।

उनको त्यो अवस्थालाई नजिकबाट नियालेका स्रोत व्यक्ती पुनले उनलाइ अपाङ्ग चढ्ने ह्विलचियरको खोजीमा लागे । ‘गाँउ घरमा उकालो ओरालोमा त्यो सम्भव थिएन तर बाग्लुङ बजारमा चलाउन सम्भव पनि छ’ उनले भने । त्यसैको खोजीमा उनी पोखरा आए । अपाङ्गता भएकाहरु चढने ह्विलचियर ५० हजार सम्म पर्छ भन्ने सुने पछि उनी दङ्ग परे । ५० हजार एक्लैले खर्च गर्न आँट उनमा थिएन । उनले विद्यार्थीहरुको सहयोग लिन खोजेका पनि थिए तर त्यही विचमा उनको सहयोगी बने डिडा नेपालका अध्यक्ष दिपक तिमिल्सीना ।
शिक्षक वाट एक छात्राको अवस्था सुनेर उनले ह्विलचियरको व्यवस्था गर्ने वचन मात्र दिएनन कहिल्यै त्यस्तो ह्विल चियर पाउँछु भनेर कल्पना समेत नगरेकी गिताको चाहना समेत पुरा गरिदिए । नेपालमा अपाङ्गका लागि केही विदेशी मित्रहरुले निशुल्क ह्विल चियर वितरण गरे पनि त्यो शहरमा मात्र सिमित रहेको तिमिल्सिनाले बताए । सिमित मात्रामा आउने ह्विलचियर वर्षै पिच्छे निशुल्क रुपमा फेर्न समेत अवस्था हेरेर फेर्न पनि पाइन्छ उनले भने । यो वर्ष पोखरामा करिव ७४ वटा ह्विलचियर आएका थिए ।

गिताकी आमाले उनलाई बाग्लुङबाट पोखरा ल्याइन जहाँ उनले ह्विलचियर प्राप्त गर्ने अवसर पाइन् । उनको लागि डिडा नेपालको आँगनमा रोकिइ राखेको ह्विलचियरमा आमाले बुइबाट राखिन तव गिताको आँखामा मन्द मुस्कान सहित आँशु छचल्कियो । उनको पर्खाइमा बसेका सबैको आँखामा आँशु नै थिए । उनलाइ सोधियो कस्तो लागेको छ गिता ? उनले भनिन ‘खुसी छु ।’ उनको छोटो उत्तरले सबैलाइ खुसीको भान हुन्थ्यो । यो ह्विलचियर गिताको अध्ययनका लागि एक पाइला थप सहयोग पुग्ने स्रोत व्यक्ती पुनले बताए । संधै बोकेर हिँडनु पर्ने उनकी आमाले पनि लामो सुस्केरा हालिन् । उनले भनिन् ‘कम्तिमा पनि सजिलो बाटोमा बोक्नु नर्पने भयो ।’ ‘अब त ह्विलचियरबाट छोरीलाई बजार घुमाउँछु’ खुसी हुँदै उनले भनिन ।

ह्विलचियर दिएर फोटो खिचाउँदै गरेका तिमिल्सिनाले उनलाई बधाइ दिए । यस्तो अपाङ्गता भएकी छात्रालाई सहयोग गर्न पाएकोमा उनी खुसी पनि थिए । उनलाई ह्विलचियर परिलक्षित संस्थाको सहयोगमा इन्डीपेनडेन्ट लिभिङ्ग सोसाएटीको समन्वयमा अपाङ्ग स्वावलम्वन विकास संघ (डिडा नेपाल) ले उपलव्ध गराएको हो । उनका अनुसार पोखरामा अहिले पनि १० हजार १५ जना विभिन्न किसिमका अपाङ्गता भएकाहरु छन । पश्चिमाञ्चलमा बालबालिकाको कुल जनसंख्याको १० प्रतिशत अपाङ्गता भएका छन । जसमा सबैभन्दा बढी शारिरिक अपाङ्गता भएका ३५ प्रतिशत छन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button