टिकट बुकिङ नखुल्दा लामो दूरीका यात्रुलाई हैरानी

पोखरा न्युज ।

दशैँ आउन तीन सातामात्र बाँकी हुँदा पनि लामो दूरीमा जानुपर्ने यात्रुले सार्वजनिक यातायातको टिकट नपाउँदा हैरानी खेपिरहेका छन् ।

विगत वर्षमा दशैँको एक महिनाअघि नै सार्वजनिक यातायातको टिकट खुला गरिन्थ्यो । यस वर्ष यातायात व्यवसायीले टिकट खुला गर्ने विषयलाई भाडा बढाउने विषयसँग सौदाबाजी गर्न खोजेका छन् ।

पेट्रोलियम पदार्थको भाउ पटकपटक घटेपनि चाडबाडको मुखमा वैज्ञानिक भाडा पद्धतिका नाममा भाडा बढाउनुपर्ने मोलमोलाई ९बार्गेनिङ० गरिरहेको यातायात अधिकार क्षेत्रमा काम गरिरहनुभएका रामबहादुर थापाले बताउनुभयो ।

नेपालीको मुख्य चाड भएकाले दशैँमा विभिन्न पेशा र व्यवसायमा संलग्न देशभरका लाखौँ यात्रु उपत्यकाबाट आफ्नो थातथलो फर्कन्छन् । चार वर्षदेखि दुबईमा काम गरेर यस वर्ष दशैँ मनाउन स्वदेश फर्कन लाग्नुभएका संखुवासभाका गोपाल बुढाथोकी सार्वजनिक यातायात र हवाई मार्ग दुवैको टिकट पाउन नसकेको गुनासो गर्नुहुन्छ ।

यातायात व्यवसायीले टिकट खोल्ने पूर्वशर्तका रुपमा छतमा पनि यात्रु राख्न पाउनुपर्ने मागसमेत गरिरहेका छन् । भोजपुरबाट काठमाडौँ आई अध्ययन गरिरहनुभएकी भीमकुमारी अधिकारी वर्ष दिनको चाडमा सार्वजनिक यातायातको टिकट नपाएकै कारण घर जान नपाइने हो कि भनी चिन्ता बढेको बताउनुहुन्छ ।

सरकारले यातायात व्यवसायीलाई नियममा हिँडाउन नसक्दा सार्वजनिक यातायातमा चाडबाडका बेलामा समस्या आउने गरेको उहाँको भनाइ छ । नेपाल यातायात व्यवसायी सर्वोच्च महासंङ्घका महासचिव शम्भु अधिकारी एकथरी यातायात व्यवसायीले दशैँको मुखमा भाडा बढाउने पक्षमा वकालत गर्दा टिकट खुलाउन ढिला भएको स्वीकार्नुहुन्छ ।

सर्वोच्च महासंङ्घले भाडा नबढाई टिकट खुलाउनुपर्ने पक्षमा विचार राखेको उहाँले सुनाउनुभयो ।

सार्वजनिक यातायातमा आबद्ध भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सीटौला वैज्ञानिक भाडा पद्धतिअनुसार समायोजनका पक्षमा रहेको बताउनुहुन्छ । लामो दूरीका सवारी साधनमा छत नहुँदा यात्रुको सामान केमा लैजाने भन्ने समस्या पनि रहेको उहाँले बताउनुभयो । समस्या समाधानका लागि सरकारसँग माग राखिएको महासङ्घले जनाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे नेपालीको प्रमुख चाड दशैँमा सबै यात्रु सहज ढंगले यात्रा गर्न सकून् भन्ने उद्देश्यले शुक्रबार यातायात व्यवसायीलगायत सरोकार भएका निकायका अधिकारीसँग छलफल गरी एक दुई दिनमै टिकट खुलाउने तयारी गरिएको बताउनुहुन्छ ।

टिकट बुकिङ नखुल्दा आफ्नो दैनिकी एक पटक नयाँ बसपार्क चाहार्ने भएको मोरङकी पवित्रा भट्टराईले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button