विमानको ९० प्रतिशतभन्दा बढी बुकिङ

पोखरा न्युज –

दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् ।

दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् ।

एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका प्रवक्ता घनश्याम आचार्यका अनुसार दशैँका लागि ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको छ । लामो गन्तव्यका बुद्ध, यति, तारा, सौर्य, श्रीलगायत एयरलाइन्सको अधिकांश टिकट सकिएको छ ।

“दशैँका लागि गाडीजस्तो विमानको अग्रिम बुकिङ हुँदैन, जुनसुकै समयमा टिकट बुकिङ हुनेहुँदा चाडैँ टिकट सकिएको हो । सेवाग्राहीको मागअनुसार वायुसेवा कम्पनीले दशैँमा उडान थप गर्नेछन्”–उहाँले भन्नुभयो ।

सामान्य अवस्थामा १०० वटा उडान हुने गर्थे भने दशैँमा १५ देखि २० प्रतिशत उडान थपिने प्रवक्ता आचार्यको भनाइ छ । उहाँले दशैँमा यात्रु चाप बढी हुने भए पनि एकतर्फी मात्रै यात्रु भरिने हुँदा विमान कम्पनीले थोेरै मात्र उडान थप्ने गरेको बताउनुभयो ।

विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएका यति एयरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका व्यवस्थापक भीमराज राईले दशैँका लागि करिब करिब टिकट बुकिङ सकिएको र मागअनुसार उडान थप्ने योजना रहेको बताउनुभयो । यतिले एक एटीआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ ।

बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार कम्पनीको पनि अधिकांश टिकट बुकिङ भइसकेको छ । बुद्धले एटीआर ४२–३२० र एटीआर ७२–५०० सहित नौ वटा विमानले विभिन्न १० गन्तव्यमा उडान भर्दै आएको छ ।

तुम्लिङटार, जनकपुर, सिमरा, भरतपुरमा शत प्रतिशत र विराटनगरलगायत छोटा गन्तव्यमा ७० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भएको बुद्ध एयरले जनाएको छ ।

केही महँगो भए पनि सुलभ र छिटो यातायातका रुपमा रहेको विमान चढेर गन्तव्यमा पुग्ने यात्रुको औधी चाहना हुन्छ, धेरैको त बाध्यता नै पर्छ । तर, दशैँको मुखमा विमानबाटै गन्तव्यमा जानुपर्ने बाध्यतामा रहेका यात्रुले टिकट पाउन सास्ती हुने गरेको छ, यो नयाँ समस्या भने हैन । हरेक वर्ष दशैँका बेला यस्तै समस्या आउने गरेको व्यवसायी तथा सेवाग्राही बताउँछन् । वायु सेवा जस्तै सडक यातायातका साधनको पनि समस्या उही छ ।

अहिले हेलिकोप्टरसहित २० वटा निजी वायुसेवा कम्पनीले अन्तरिक उडान भर्दै आएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button