व्यवसायिक कृषिमा अनुकरणीय बन्दै कास्कीको बाघमारा

पोखरा न्युज, वासुदेव पौडेल।

शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषि प्रति अनाकर्षण बढीरहेका अवस्थामा कास्कीस्थित बाघमाराले भने व्यवसायिक कृषिको आकर्षक क्षेत्रका रुपमा आफ्नो पहिचान बनाएको छ ।

पछिल्लो समयमा शहरीकरणको विकास तथा विस्तार भइरहँदा हाल पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ मा पर्ने यो ठाउँका कृषकहरू व्यवसायिक कृषिका माध्यमबाट आयआर्जनको क्रमलाई पनि सँगसँगै बढाएका छन् ।

व्यवसायिक रुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दुधको शहरका रुपमा घोषणा हुन सफल भएको छ ।
दुई दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दुध संकलन गरी विक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यवसायिकतामा विकास भएको अगुवा कृषक खगेन्द्र अधिकारीले बताउनुभयो ।

“तत्कालिन समयदेखि नै बाघमारामा दुग्ध व्यवसायले व्यवसायिक रुप लिदै गएको हो,” उहाँले भन्नुभयो, “उक्त समयमा अधिकतम १६० लिटरसम्म दुध यहाँबाट दुग्ध विकास संस्थानलाई दिन हामी सफल बनेका थियौं ।” सुरुमा दुग्ध विकास संस्थानले दुध लैजाने गरेकोमा २०६१ साल भदौदेखि नीजिस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दुध संकलन गर्न थालेको थियो । अन्य नीजि डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण थप बढेको बताउँदै अधिकारीले उक्त समयमा २५० लिटरसम्म दुध संकलन हुने गरेको जानकारी दिनुभयो ।

सुरुमा २०५०-५१ सालतिर तालचोकसम्म दुध पुरयाउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दुध संकलन केन्द्रका रुपमा विकास भएको थियो । केही वर्ष यता चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारी साधन आवतजावत गर्न थालेका कारण उत्पादित दुध बजारमा पुरयाउन सहज भएको छ ।

बाघमाराबाट बजारमा दुधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवाहरू पनि यस तर्फ आकर्षित बन्न थालेको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विश्वेश्वर हरामीले बताउनुभयो । “दुग्ध उत्पादनमा बढीरहेको आकर्षणसँगै हाल पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट दैनिक पाँच हजार लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको छ,” उहाँले भन्नुभयो, “दुधको उत्पादनका लागि गाईभैसी पालनका साथै अन्य व्यवसायिक तरकारी खेती तर्फ पनि आकर्षण बढ्दै गएको छ ।” बाघमारा क्षेत्रमा व्यवसायिक कृषिमा आकर्षण बढीरहे पनि कृषकहरूले राज्यबाट प्राप्त गर्ने सेवा सुविधा पाउन नसकेको उल्लेख गर्दै उहाँले कृषकलाई प्रोत्साहित गर्नका लागि राज्य उदार बन्नु अपरिहार्य भएको बताउनुभयो ।

पछिल्लो समयमा गाई फार्म सञ्चालनमा पनि लहर आउन थालेको सनराइज मल्टी एग्रो फार्मका सञ्चालक सरोजराज अधिकारी बताउनुहुन्छ । “व्यवसायिकताको विकाससँगै फार्म नै सञ्चालन गरी यस क्षेत्रमा पशुपालन तर्फ कृषकहरू सकृय बन्न थालेका छन्,” उहाँले भन्नुभयो, “यातायातको सहजताका साथै बजारको बढ्दो मागका कारण यस तर्फ आकर्षण बढ्दै गएको हो ।”

दुधको विक्री वितरणको सहजताका लागि हाल यस क्षेत्रमा आठवटा दुध संकला केन्द्र सञ्चालनमा आएका छन् । फार्म सञ्चालनका साथै अधिकारीले आसपासमा उत्पादित दुध समेत खपत गर्ने गरी २०७० सालदेखि सनराइज डेरी पनि सञ्चालनमा ल्याउनुभएको छ ।

दुग्ध व्यवसायमा आकर्षण बढ्दै गएका कारण स्थानीय सकृयतामा बृहत्तर गाइपालन समिति गठन गरिएको सो समितिका सदस्य चन्द्रप्रसाद पौडेलले बताउनुभयो । समितिसँग ५०० को हाराहारीमा सदस्य आवद्ध भएको बताउँदै उहाँले हालै पोखरालेखनाथ महानगरपालिका वडा नं ३३ लाई (साविक लेखनाथ नगरपालिका वडा नं १६, १७ र १८) लाई नगरस्तरीय कार्यक्रम अन्तर्गत दुधको शहर घोषणा गरिएको बताउनुभयो ।

व्यवसायिकताको बढ्दो विकाससँगै यस क्षेत्रका स्थानीय युवाहरू आफ्नो अन्य पेशाका अतिरिक्त कृषिजन्य उत्पादनलाई पनि प्राथमिकता दिन थालेका छन् ।

विगत २३ वर्ष यता आफ्नो मुख्य पेशा शिक्षण बनाएका युवा बाबुराज आचार्यले पाँच वर्ष यता कुरिलो खेती गर्दै आउनुभएको छ । “एउटा पेशा मात्र सम्हाल्नु भन्दा पनि समयको सदुपयोग र थप आय आर्जनका लागि एक रोपनी भन्दा बढी क्षेत्रफलमा व्यवसायिक कुरिलो खेती गर्दै आएको छु,” उहाँले भन्नुभयो, “बजारमा कुरिलोको माग अत्याधिक छ, उत्पादन गर्न सके जति पनि खपत हुन्छ ।”

बाघमारामा व्यवसयिक कृषि प्रति बढीरहेको आकर्षणसँगै कृषकलाई अझै अभिप्रेरित गर्नका लागि राज्यको साथ र सहयोग अपरिहार्य भएको स्थानीयवासी बताउँछन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button