अष्ट्रेलियाबाट आयात गरी चितवनमा उन्नत जातको बाख्रापालन

पोखरा न्युज ।

खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्रम शुरु भएसँगै खसी बोकाको उत्पादन बढ्दो रहेको छ । अफ्रिकासँगै अष्ट्रेलियाबाट पनि उन्नत बोयर जातको बाख्रा र बोका ल्याउने क्रम बढेर गएको छ ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्ममा अहिले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याइएको छ । विभिन्न पेशा र व्यवसाय संगालेका छ जनाले दुई वर्षअघि शुरु गरेको सो फार्ममा स्थानीय जातका बाख्रा रहेका छन् ।

तीन महिनाअघि उनीहरुले अष्ट्रेलियाबाट चारवटा बोका र २४ वटा पाठी भित्र्याएका हुन् । शिक्षक, प्राध्यापक, भेटेनरी डाक्टर, व्यापारी मिलेर उक्त फर्म सञ्चालन गरेका हुन् ।

फर्मका सञ्चालक रमेशचन्द्र आचार्यकाअनुसार अष्ट्रेलियाबाट २८ वटा बोका र बाख्रा फर्मसम्म आइपुग्दा करिब रु ५६ लाख खर्च भएको छ । यसलाई हेर्दा एउटा बाख्रालाई सरदर रु दुई लाख खर्च भएको उहाँले बताउनुभयो ।

फर्ममा क्रस गराई ५० प्रतिशत बोयर भएको एउटा बोका, जमुनापारी जातको एउटा बोका, क्रश गराई २५ प्रतिशत बोयर जातका २० वटा पाठापाठी छन् भने स्थानीय जातका ११५ वटा बाख्रा रहेको सञ्चालक आचार्यले बताउनुभयो । स्थानीय खरी, जमुनापारी, बारबारी र तराई जातका रहेका छन् । बोयर जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने लक्ष्य फर्मले राखेको छ ।

फर्मका अर्का सञ्चालक डा विष्णु धितालकाअनुसार बोयर जातको बाख्रा सबै खाले हावापानीमा सजिलै घुलमिल हुनसक्दछ । रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ, भने शतप्रतिशत जुम्ल्याहा पाउने हुँदा नाफामूलक हुन्छ ।

दुई वर्षमा तीनपटक ब्याउने बताउँदै उहाँले पाठापाठीलाई तीनदेखि ६ महिनामा बिक्री गर्न सकिने बताउनुभयो । एक दिनमा १५० देखि ३०० ग्रामसम्म तौल बढ्ने हुँदा खसी उत्पादनका लागि पनि यो जातको बाख्रा उपयुक्त हुने छ । एक वर्षमा एउटा खसी ८० केजीदेखि एक क्विन्टलसम्मको हुने बताइएको छ ।

समूहगत रुपमा शुरु गरिएको यो फर्म चार बिगाहा क्षेत्रफलमा फैलिएको छ । फर्मका अर्का सञ्चालक गणेश पौडेलकाअनुसार १० वर्षका लागि वार्षिक प्रतिकठ्ठा दुई हजार ५०० देखि तीन हजार ५०० सम्ममा विभिन्न व्यक्तिबाट जग्गा भाडामा लिइएको छ ।

मकै, चोक्कर, बोनमिल, क्याल्सियम नुन मिसाएर दाना तयार गरेर पनि बाख्रालाई खुवाउने गरिएको छ । जापानमा दुई वर्ष काम गरेर नेपालमै व्यवसाय गर्ने उद्देश्यका साथ फर्किनुभएका सोही समूहका अर्का सञ्चालक आशिश बमले बाख्रामा राम्रो आम्दानी हुने देखेपछि साथीभाइ मिलेर व्यवसाय थालेको बताउनुभयो ।

एक हजार बाख्रा पुरयाउने लक्ष्यका साथ काम अगाडि बढेको उहाँले बताउनुभयो । झण्डै रु ३० लाख खर्च गरेर सो समूहले पाँच सय बाख्रा अट्ने अत्याधुनिक खोर निर्माण गरिसकेका छन् । टाट्नुबाट जुत्तो (मल) भूइँमा खस्ने हुँदा खोर सफा रहेको छ ।

यस अघि पिपिआर रोगका कारण ४० वटाभन्दा बढी बाख्रा मरेपछि औषधि छर्केर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाईएको छ भने फर्मभन्दा बाहिरबाट ल्याईएका बाख्रालाई बोका लगाउन दिईएको छैन । सबै बाख्रालाई पिपिआरको सुई लगाईएको छ भने सबैको बीमा गरिएकाले जोखिम कम रहेको संचालक आचार्यले बताउनुभयो ।

सो समूहले हालसम्म करिब १ करोड १० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । आचार्यका अनुसार आफ्नै घरजग्गा धितो राखेर सहुलियत ऋण रु ९६ लाख लिइएको छ भने बाँकी रकम सञ्चालकहरुले लगानी गरेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button