म्याग्दी खोलामा माछा मार्न गएका बालक बेपत्ता

पोखरा न्युज ।

माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् ।

सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत पुनसँगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयवासी केशव कँडेलले जानकारी दिनुभयो ।

बेपत्ता बालकको खोजीकार्य भइरहेको छ । बिदाको समयमा खोलामा पुगेका पुन खोलामा बेपत्ता भएलगत्तै तातोपानी आसपासका स्थानीयवासी, आफन्त र प्रहरीले खोजीकार्य शुरु गरेका छन् ।

दशैँ तिहारको अवसरमा सामुदायिक तथा निजी विद्यालय बन्द भएको मौका छोपी बालबालिका खोलामा पुग्ने गरेकाले अभिभावकलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको छ । म्याग्दी र कालीखोलाको सतह घटेको छैन ।

प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बिदामा बालबालिकालाई अभिभावकको निगरानीमा राख्नुपर्ने र खोला तथा जोखिमपूर्ण स्थानमा देखेलगत्तै सबैले चासो देखाउनुपर्ने बताउनुभयो ।

म्याग्दी र कालीगण्डकीमा करेन्ट, बल्छी र जालको माध्यमबाट माछा मार्न कलिला बालबालिकादेखि पाका मान्छे जाने गरेका छन् । बजारमा माछाको माग धेरै हुने भएकाले पनि तातोपानीलगायत आसपासका क्षेत्रमा व्यावसायिकरुपमै माछा मार्ने गरिन्छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button