वर्षेनी पाँच लाख युवा बेरोजगार

पोखरा न्युज ।

श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार हुने गरेका बताउनुभएको छ ।

‘कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)’ को वित्तीय तथा अन्तरराष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालय-विभागद्वारा आयोजित अभिमुखीकरण गोष्ठीमा उपसचिव राईले आन्तरिक रोजगारी सिर्जना हुन नसकेकाले बेरोजगारी बढेको बताउनुभयो ।

नेपालका रोजगारदाता उद्योग, प्रतिष्ठानले रोजगारी दिन अनिच्छा देखाएकाले रोजीरोटीका लागि युवा विदेशिनु परेको उहाँको टिप्पणी थियो ।

श्रम विभागका निर्देशक हरि शर्माले कर्णालीसँग रोजगार दिनसक्ने तमाम सम्भावना रहेको बताउनुभयो । यहाँ जल, जंगल, जडीबुटी र पर्यटन क्षेत्रको विकास गर्न सके सयौँ युवाले रोजगार पाउने उहाँको भनाइ थियो ।

अन्तरराष्ट्रिय श्रम संगठन नेपालअन्तर्गत सञ्चालित श्रम बजार, सूचना रोजगार सेवा (लाइफ) परियोजनाका राष्ट्रिय संयोजक सौरभराम जोशीले आफूहरुले रोजगारी दिने नभई प्रभावकारी रोजगारी सेवा प्रवाहको लागि पहल गर्ने बताउनुभयो । संयोजक जोशीले सन् २०१५ देखि परियोजना शुरु हुँदा पहिलो चरणमा धनगढी, नेपालगञ्ज, बुटवल, काठमाडौँ, विराटनगर र अहिले जनकपुर, पोखरा र जुम्लाका रोजगार सूचना केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको जनाउनुभयो ।

रोजगार खोज्नेका लागि सहज होस् भनेर प्रत्येक सूचना केन्द्रमा ‘जब पोर्टल’ निर्माण गरिएको छ । परियोजनाले अहिलेसम्म विभिन्न क्षेत्रमा गरेर तीन हजार ८४९ जनालाई रोजगार दिलाउन सहयोग पुरयाएको छ । रोजगार सूचना केन्द्रका प्रमुख मेघराज गिरीले जनशक्ति आवश्यक परेमा आफ्नो कार्यालयसँग सम्पर्क र समन्वय गर्न आग्रह गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button