अग्र्यानिक अकबरे खुर्सानी बन्दैछ छथरको कोसेली

पोखरा न्युज ।

छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ ।

यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् ।

केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावसायिक खेती गर्दै यही पेशाबाट जीविकोपार्जन गरिरहेका छन् । अहिले यहाँ आउने आगन्तुकले फर्किर्नबेला खोजी गर्ने कोसेलीमा सबैभन्दा धेरैले अकबरे खुर्सानीको खोजी गर्छन् ।

चाडपर्व तथा विभिन्न काम विशेषमा छथर आउने जानेले कोसेलीको रुपमा अकबरे खुर्सानीको अचार लैजाने चलन बढेको छथर गाउँपालिका–६, सुदापकी कृषक शिवमाया खड्काले बताउनुभयो । रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खुर्सानी यहाँको अहिलेको सबैभन्दा लोकप्रिय कोसेली बनेको छ ।

यहाँको उत्पादन अग्र्यानिक र व्यावसायिक छ । त्यसैले देश विदेशमा छथरको अकबरे लोकप्रिय बन्न थालेको हो । छथरमा अकबरे खुर्सानीबाट जीविकोपार्जन गर्ने किसानको संख्या वर्षेनी थपिँदै छ । यहाँका अधिकांश किसानलाई व्यावसायिक र अग्र्यानिकखेती गर्न दलित सचेतना समाज नेपालले तालीम र बीउ पुँजी सहयोग गरेको छ ।

अकबरे खेतीमा शुरुमा महिला कृषकको मात्रै संलग्नता थियो । अहिले पुरुषले पनि यो खेतीमा मिहेनत गरेर आम्दानी गरेका छन् । व्यावसायिक खेती सुरु भएपछि गाउँमै यसको अचार बनाउने सीप सिकेका महिलासमेत धेरै रहेको सुदापकै किसान जनक दासले बताउनुभयो । अकबरे खुर्सानी अहिले प्रति किलो रु तीन सयदेखि रु ५०० सम्ममा किनबेच भइरहेको छ ।

यहाँ उत्पादित अकबरे खुर्सानी पूर्वका धरान, विराटनगर, मोरङ, झापालगायत राजधानी र विदेशमा समेत निर्यात भइरहेको छ । तर विशेषगरी कोसेलीको रुपमा विदेशतिर धेरै जाने गरेको किसान आफैँ बताउँछन् । छथर गाउँपालिकाका सबै वडामा अकबरे खुर्सानीको खेती भइरहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button