कास्कीमा चुनावी माहोल तात्यो

पोखरा न्युज ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै कास्कीमा चुनावी माहोल तातेको छ ।

चुनावी माहोल आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले यतिखेर कोणसभा, बैठक, भेटघाट र संगठन विस्तारजस्ता कार्यक्रम गरिरहेका छन् ।

महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा कुराकानी हुने गरेको पाइन्छ । मतदाता पनि हाम्राभन्दा राम्रा, स्वच्छ छवि भएका, इमान्दार र विकासप्रेमी उम्मेदवारलाई मत दिने मनस्थितिमा रहेको पाइन्छ ।

जिल्लाका सबै राजनीतिक दलले आ–आफना पार्टीका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति केन्द्र, संघीय समाजवादी फोरम नेपाल सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन् । सिफारिसमा परेका आकांक्षी पनि टिकट पाउन नेताकहाँ धाउन थालेको पाइन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा चार निर्वाचन क्षेत्र रहेको कास्की निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्र कायम गरिदिएको छ ।

कास्की क्षेत्र नं १ बाट नेपाली काँग्रेसबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियारलगायत सिफारिसमा पर्नुभएको छ । अघिल्लो संविधान सभाको निर्वाचनमा यज्ञबहादुर थापाले एमालेका मानबहादुर जिसीलाई झिनो मतले पराजित गरी विजयी हुनुभएको थियो ।

जिसी स्थानीय तहको निर्वाचनमा एमालेका तर्पmबाट पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा विजयी हुनुभएको छ । यो क्षेत्रबाट एमालेबाट पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिसमा पर्नुभएको छ ।

माओवादी केन्द्रबाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय नेता देव गुरुङ सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं २ बाट काँग्रेसका जिल्ला नेता सोभियतबहादुर अधिकारी, देवराज चालिसे, डा परमेश्वर पोखरेललगायत सिफारिसमा पर्नुभएको छ ।

एमालेबाट व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारी सर्वसम्मत सिफारिसमा पर्नुभएको छ । उहाँ २०६४ र २०७० सालको निर्वाचनमा साविक क्षेत्र नं ३ बाट विजयी हुनुभएको थियो । माओवादी केन्द्रबाट नेता राजकाजी गुरुङ सिफारिसमा पर्नुभएको छ ।

यस्तै क्षेत्र नं ३ मा काँग्रेसबाट शारदा पौडेल, पार्टीका पूर्व केन्द्रीय आमन्त्रित सदस्य शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ, एमालेबाट केन्द्रीय नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला र उमा कोइराला र माओवादी केन्द्रबाट रामजी बराल सिफारिसमा पर्नुभएको छ ।

सबै राजनीतिक दलहरुले प्रदेश सभाका सबै क्षेत्रमा आकांक्षीको सूची केन्द्रमा सिफारिस गरेका छन् ।

जिल्लाको कूल मतदाता संख्या दुई लाख ५६,४०५ रहेको छ । जसमध्ये पुरुष एक लाख १९ हजार ५१६, महिला एक लाख ३६ हजार ८८१ र तेस्रो लिङ्गी चार जना रहेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६,४७९, क्षेत्र नं २ मा ७०, ९२६ र क्षेत्र नं ३ मा ८८९९६ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button