कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधी खाँदै

पोखरा न्युज ।

कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी(एआरटी) सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधी सेवन गरिरहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् ।

संक्रमितमध्ये महिलाको संख्या बढी छ । औषधि खाइरहेकामध्ये १८ वर्षमुनिका १३७ बालबालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले कार्यक्रममा जानकारी दिनुभयो ।

संक्रमित बालबालिकालाई ‘सेभ द चिल्ड्रेन’मार्फत् मासिक रु एक हजार सहयोग भइरहेको जनाइएको छ । यी सेन्टरबाट औषधि सेवन गरिरहेकामध्ये गएको एक वर्षमा २० जनाको एड्सका कारण मृत्यु भएसकेको छ ।

कैलालीको सेती अञ्चल अस्पताल र टीकापुर अस्पताल परिसरमा एआरटी सेवा सञ्चालनमा रहेको छ । यी दबै सेन्टरमा कैलाली, कञ्चनपुर, डोटी, बर्दिया, डडेलधुरा, दार्चुला, बझाङ, दैलेख, सुर्खेतलगायतका जिल्लाका साथै सीमावर्ती भारतका संक्रमितले एआरटी औषधि खाइरहेका छन् । औषधि खानेमध्ये कैलाली जिल्लाका मात्रै ९९५ जना रहेका छन् ।

कार्यक्रममा हेल्थ केयर फाउण्डेशनका माधव पन्तले यी दुई सेन्टरमा हालसम्म एक हजार ८५७ जनाको एचआइभी परीक्षण भएकोमा पछिल्लो एक वर्षमा मात्रै ११७ जना संक्रमित भएको पाइएको जानकारी दिनुभयो ।

जनस्वास्थ्य निरीक्षक चन्दले यो रोग बारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागार्इं र पत्रकार उमिद बागचन्दले रोग रोकथामका बारेमा प्रकास पार्नुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button