पर्वतको महाशिला र बिहादीमा पहिलो पटक इन्टरनेट सेवा

पोखरा न्युज ।

यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् ।

बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो ।

बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो । उहाँले हरेक वडामा रु चार लाख ५० हजार बजेट विनियोजन गरी प्रविधियुक्त बनाइएको बताउनुभयो । वडामा इन्टरनेट जडान गरेपछि गाउँपालिकादेखि मन्त्रालयसम्मका चिठी, परिपत्र पाउन, बेवसाइडका सूचना वडाबाटै तत्काल पाउन सकिएको छ ।

“अब वडामा हामीले तत्काल नीति, निर्देशन, जानकारीलगायतका चिठीपत्र इमेलबाटै पठाउन सक्ने भएका छौँ” उहाँ भन्नुभयो ।

यस्तै, महाशिला गाउँपालिकाले पनि इन्टरनेटलाई विस्तार गरेर वडावडामा पुरयाएको छ । गाउँपालिकाले उपकरण खरिद गरी सबै वडामा इन्टरसेवा विस्तार गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । छवटै वडामा प्रविधियुक्त वाइम्याक्ससहितको इन्टरनेट सेवा जडान गरिएको छ ।

महाशिलाले हरेक वडामा रु एक लाख ५० हजार खर्च गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले पत्राचार गर्ने सबै विषय इमेलमार्फत वडा कार्यालयमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सबै वडा कार्यालयमा इन्टरनेट जडान गरेका यी दुई गाउँपालिकाले छिट्टै व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेका छन् । रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button