पोखराका मुख्य केन्द्रमा सिसी टिभी जडानबारे छलफल

पोखरा न्युज  ।

पोखरालाई सुरक्षित सहरको रुपमा विकास गर्नको लागि यहाँका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडानको लागि सरोकारवाला सहमत भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा पोखराका व्यवसायिक प्रतिष्ठान र बैक तथा वित्तीय संस्थाहरुका शान्ति सुरक्षाको विषयमा छलफलको लागि आयोजित कार्यक्रममा बोल्दै प्रशासन तथा नागरिक समाजसँगको सहकार्यको लागि तयार समेत भएका छन् ।

कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले नगदको कारोवार धेरै हुने क्षेत्रलाई अझ बढी सुरक्षित बनाउनको लागि सिसी क्यामेरा जडानको अवधारणा ल्याइएको बताउनुभयो । ‘यो सुरक्षामा सहकार्यको प्रयास हो’,उहाँले भन्नुभयो,‘सहरलाई प्रविधीमैत्री बनाउन समेत यो अभियानले सघाउने छ ।’

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखराको जनघनत्व बढ्दै जाँदा सुरक्षा चुनौति बढेको उल्लेख गर्दै समयमै सम्भावित दुर्घटनाको आँकलन हुनु पर्नेमा जोड दिनुभयो । सुरक्षा निकायसँगको हातेमालोले समाज सुरक्षित हुने बताउँदै उहाँले सिसी क्यामेरा जडान परियोजनालाई सघाउन सरोकारवालासँग आग्रह पनि गर्नुभयो । नेपाल सरकार तथा पोखरा लेखनाथ महानगरपालिकासँग पनि यो अभियान सफल बनाउन सहकार्य गरिने उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिँह ठकुरीले प्रविधीयुक्त प्रहरी अभियानलाई सिसी टिभी क्यामेरा जडान अभियानले सघाउने आशा व्यक्त गर्नुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै यो अभियानमा सघाउन उहाँले वित्तीय संघ÷संस्था र व्यवसायीहरुसँग आग्रह पनि गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुको धन्यवाद तथा महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा पोखरामा सिसी टिभी क्यामेरा जडानको आवश्यकता र महत्वबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार अहिले पोखराको २२ ठाउँमा मात्र सिसी क्यामेरा संचालनमा रहेको छ । महेन्द्रपुललगायतका मुख्य सडकमा राखिएका सिसी क्यामेराहरु बिग्रिएको बताउँदै उहाँले पोखराका १ सय २२ वटा ठाउँलाई केन्द्रमा सिसी टिभी क्यामेरा जडान गर्न आवश्यक देखिएको बताउनुभयो । ती केन्द्रहरुमा आवश्यकता हेरी ३-४ वटा क्यामेरा जडान गरिने उहाँले प्रष्ट पार्नुभयो । यो परियोजना सम्पन्न गर्नको लागि करिब ४ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा सुनचाँदी व्यवसायी दशरथ सुनार, मेघा बैंकका समीर केसी,ग्लोवल आइएमई बैंकका महेन्द्र अधिकारी,संघका कार्यसमिति सदस्य गोमा ढकाल, शिखर इन्स्योरेन्सका सुनयना पालिखे, माछापुछ्रे बैंकका प्रकास केसी लगायतले नगरको सुरक्षाको लागि अगाडि सारिएको अभियानलाई सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button