इन्जिनियरको अभावमा पर्वतका भूकम्पपीडितले घर बनाउन पाएनन्

पोखरा न्युज ।

आवश्यक प्राविधिक जनशक्ति नहुँदा पर्वतमा भूकम्पपीडितले घर निर्माण कार्य शुरु गर्न सकेको छैन् ।

पर्वतमा भूकम्पबाट पाँच हजार २६९ परिवार पूर्ण प्रभावित भएका थिए । तीमध्ये हालसम्म चार हजार ७० जनाले पहिलो किस्ताको रकम भुक्तानी लिइसकेका छन् भने चार हजार ३५० जनाले सम्झौता गरिसकेका छन् । बाँकी ९९० लाभग्राहीको विभिन्न कारणले सम्झौता हुन नसकेको बताइएको छ ।

पुनःनिर्माणका लागि भन्दै शहरी विकास भवन निर्माण डिभिजन कार्यालयबाट एकजना इन्जिनियर खटिएको भए पनि सबै क्षेत्रमा पुग्न नसक्दा पीडितले घर निर्माण कार्य शुरु गर्न नसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म रु २० करोड ३५ लाख वितरण भइसकेको छ, उहाँले भन्नुभयो– ‘अनुदान सम्झौतापछि पहिलो किस्ता पाए पनि दोस्रो किस्ता लिनका लागि घर निर्माण शुरु गरेको र जग बनाइसकेको प्रमाणित प्राविधिकले गर्नुपर्ने प्रावधान छ तर प्राविधिक जनशक्तिको अभावमा त्यो कार्य हुन सकिराखेको छैन् ।’

कम्तीमा एक स्थानीय तहमा एकजना इन्जिनियर खटाउन सकेमा पुनःनिर्माणले गति लिन सक्छ, शर्माले भन्नुभयो – ‘अहिले जिल्लामा एउटा मात्र इन्जिनियर छ, उसले सबै लाभग्राहीलाई हेर्न भ्याउँदैन ।’ पटक–पटक इन्जिनियर पठाउनका लागि भूकम्प पुनःनिर्माण प्राधिकरणमा ताकेता गरे पनि सुनुवाइ नभएको उहाँको गुणासो छ ।

पर्वतका सात वटै स्थानीय तहमा एक–एक इन्जिनियर छन् । तिनीहरुलाई नै तालीम दिएर खटाउन सकेमा पनि भूकम्पपछिको पुनःनिर्माणले गति लिन सकिन्थ्यो । जिल्ला समन्वय समिति पर्वतले सम्झौता भइसकेका लाभग्राहीलाई विभिन्न बैंकमार्फत भुक्तानी दिँदै आएको छ । पूर्णरुपमा भूकम्प प्रभावित बनेकामध्ये केहीले पहिले नै आवास बनाइसकेका छन् भने केही अझै पनि झुप्रोमा बस्न बाध्य भएका छन् ।

भूकम्प पुनःनिर्माणमा स्थानीय तहले पनि जिम्मेवार नबनेका कारण समस्या देखिएको छ । सरकारले भूकम्प प्रभावितको रकम स्थानीय तहमै पठाउने बताए पनि व्यवस्थापन गर्न कठिन हुने भन्दै पर्वतमा जिल्ला समन्वय समितिमार्फत नै सो रकम वितरण हुँदै आएको छ ।

सम्झौता गर्न बाँकी रहेकाहरुलाई पनि ताकेता गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा बैंकको पहुँच पुग्न नसक्दा पनि रकम वितरण र सम्झौतामा समस्या भएको हो । रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button