मिलले भुक्तानी नदिँदा उखु किसान मर्कामा

पोखरा न्युज ।

मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ ।

आर्थिक वर्ष २०७३-०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताउनुभयो ।

सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३-०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उहाँहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको गुनासो छ ।

सुनसरी, मोरङबाट आठ लाख २८ हजार ६४१ क्विन्टल उखु खरिद गरेको सुगर मिलले रु ४१ करोड दिनुपर्नेमा रु २३ करोड उपलब्ध गराएको र बाँकी रु १८ करोड नदिएपछि कृषक थप मर्कामा परेका हुन् ।

दशैँ र तिहारसम्ममा सबै पूँजी चुक्ता गर्ने भनेर सम्झौता भए पनि अहिलेसम्म मिलले कृषकको उखुको मूल्य नदिएकाले आन्दोलित हुनुपरेको उखु कृषक संघर्ष समितिका सचिव कमलप्रसाद कामतको भनाइ छ ।

गत वर्ष सुनसरी, मोरङका १० हजार उखु कृषकले उखुखेती गरेका थिए । यो वर्ष सुनसरी, मोरङका सात हजार कृषकले सात हजार बिगाहमा उखुखेती गरेका छन् । इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि उखुखेतीबाट कृषक पलायन हुँदै गएको कामतले बताउनुभयो ।

सुनसरीको बर्जु गाउँपालिकामा १८ बिगाहमा उखुखेती गर्दै आउनुभएका रमेश कामत मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जन गर्न समस्या भएको बताउनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले कृषकको मर्काको विषयमा गम्भीर रहेको भन्दै छिटोभन्दा छिटो समस्या समाधानमा पहल गर्ने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button