वाम गठबन्धनले गाली गलौज र फोहोरी राजनीति गर्दैन – रविन्द्र अधिकारी

पोखरा न्युज । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर २ का उम्मेद्वार रवीन्द्र अधिकारीले वाम गठबन्धनले गाली गलौज र फोहोरी राजनीति नगर्ने बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ को बिहिबार वडा स्तरीय वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै  अधिकारीले वामपन्थी दलको अगुवाइमा पोखराको विकास भएको दावी गर्दै आफुहरुले फोहोरी राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अधिकारीले कम्युनिस्टलाई विभाजन गरेर फाइदा लिएका पुँजीवादी वाम गठबन्धनबाट आत्तिएको उल्लेख गरे ।

नेकपा एमालेका स्थायी समितिका सदस्य तथा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले ठूला वाम पार्टी मिल्नु देश विकास र समृद्धिको लागि ठूलो अवसर भएको बताए । वाम गठबन्धन राजनीतिक स्थायित्व र दिगो विकासको महान अभियानमा लागेकोले साना तिना सवालमा अल्झन नहुने उल्लेख गर्दै उनले पार्टी एउटै बनाउन भोट हालेको सम्झन नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेश सभाका उम्मेद्वार राजकाजी गुरुङ (करण)ले जनताको मतबाट निर्वाचित हुने विधिलाई अधिनायकवाद भनेर कांग्रेसले अप व्याख्या गरेको बताए । टुक्रा टुक्रा पार्टी लिएर हामीले चाहे जस्तो समृद्धि सम्भव नभएको उल्लेख गर्दै नेता गुरुङले एउटै कम्युनिस्ट केन्द्र बनाउने धारणा राखे ।

भेलाले प्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीको सह संयोजकमा बमबहादुर कार्की छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि युवा परिचालन समितिमा इन्द्रबहादुर मगर र वीरेन्द्र दाहाल, महिला परिचालन समितिमा जुवेदा खातुन र सरु श्रेष्ठ, उत्पीडित दलित परिचालन समितिमा कृष्ण परियार र कमला विक (दुर्गा) रहेको संयोजक प्रकाश शर्माले जानकारी दिए ।
सुकुम्बासी परिचालन समितिमा आसबहादुर विक र जीतबहादु मोक्तान, बुद्धिजीवी परिचालन समितिमा बालगोपाल आमात्य, आर्थिक परिचालन समितिमा दामोदर शर्मा पराजुली रहेको नेकपा माओवादी केन्द्र वडा नम्बर ९ का अध्यक्ष बमबहादुर कार्कीले बताए ।

आदिवासी जनजाति परिचालन समितिमा आइतमान गुरुङ र प्रतिमा गुरुङ, मुस्लीम परिचालन समितिमा मोमताज अली, उद्योगी व्यापारी परिचालन समितिमा दुर्गाप्रसाद श्रेष्ठ र राजकुमार सुवेदी, खेलकुद परिचालनमा दिनेश लिम्बु, सामाजिक संघ संस्था परिचालनमा दिनेशप्रसाद दाहाल र दिलमाया गुरुङ, शैक्षिक क्षेत्र परिचालन समितिमा दामोदर शर्मा र विकल पौडेल, विद्यार्थी परिचालन समितिमा कृष्ण कार्की र विवेक श्रेष्ठ रहेका छन् ।

भेलामा नेकपा एमाले वडा कमिटी पोखरा ९ का अध्यक्ष प्रकाश शर्मा, वडा सचिव प्रेम गुरुङ, नेकपा माओवादी केन्द्रका वडाध्यक्ष बमबहादुर कार्की लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button