पोखरामा ‘बार्दलीको छेउबाट’ नाटक प्रदर्शन हुने

 

पोखरा न्युज ।

पोखरामा बार्दलीको छेउबाट नाटक प्रदर्शन हुने भएको छ ।   पोखरामा नाटक कला अध्ययन गराउने  नेसनल आर्ट स्कुलले मंसीर २९ र पुष १ गते ‘बार्दलीको छेउबाट’ नाटक प्रदर्शन गर्न लागेको हो  ।

पोखरा उद्योग वाणिज्य संघको सभाहलमा मंसीर २९ र पुष १ गते अपराह्न ३ बजे १/१ सो प्रदर्शन गर्ने स्कुलका संस्थापक निर्देशक कृष्ण उदासीले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जान जानकारी दिए ।

नेसनल आर्ट स्कुलको प्रस्तुतीमा प्रदर्शन हुन लागेको नाटकको लेखन तथा निर्देशन उदासीको रहने भएको छ । यस नाटकबाट नाट्य कलाकार ममता मञ्जुल सह निर्देशकको रुपमा उदाउने भएकी छिन् । कलाकारसमेत रहेकी उनले निर्देशनमा डेब्यू गर्न लागेकी हुन् । नाटकका कलाकारहरुमा ममता मञ्जुल, निश्चल विमल, एलिसा विक, कृष्ण पौडेल, पार्वती थापा, विष्णु तिमिल्सिना, कुशल अधिकारी, लक्ष्मी न्यौपाने, सोनिया खत्री र प्रवेश श्रेष्ठ रहने भएका छन् । लक्ष्मी हमालको परिकल्पना, शान्ति थापा पुनको कोरियोग्राफी, सगुन तामाङको द्वन्द्व, रोम तामाङको संगीत संयोजनमा प्रदर्शन हुन लागेको ‘बार्दलीको छेउबाट’ नाटकको तयारी शुरु गरिएको नाटकका निर्देशक कृष्ण उदासीले जानकारी दिए ।

‘बार्दलीको छेउबाट’ सामाजिक प्रयोगबादी नाटक भएको निर्देशक उदासीले बताए । सामाजिक यथार्थमा आधारित प्रयोगबादी यस नाटकमा सामाजिक, आर्थिक, राजनीतिक बिसंगति, विकृतिलाई उठाउँदै यसले समाजमा ल्याएको पारिवारिक बिखण्डन र बिचलनलाई सरल ढंगमा उजागर गर्ने प्रयास गरिने उनले बताए । नेपालमा करीब ३३ प्रतिशत मानिस डिप्रेसनमा रहेको दाबी गर्दै निर्देशक उदासीले नाटकमा डिप्रेसनको कारण खोतल्ने प्रयास गरिने बताए ।

नाटक प्रदर्शनका लागि करीब ३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । नाटक अवलोकनका लागि २ सय, ५ सय र एक हजार रुपैयाँ प्रवेश टिकट दर कायम गरिएको उदासीले जानकारी दिए ।

६० को दशकपछि सुस्ताएको नाट्य क्षेत्र ७० को दशकमा आएर ‘अन्र्तराष्ट्रिय रक्सी भट्टी’बाट पुर्नजागृत भएको हो । त्यसपछि ‘पुलिस र प्यास’, ‘एक रुपैया’ र ‘तैँ चुप मै चुप’ हुँदै ‘बार्दलीको छेउबाट’सम्म आइपुगेको हो । नेसनल आर्ट स्कुलको भने यो दोश्रो प्रस्तुती हो । यसअघी यसले ‘तैँ चुप मै चुप’ नाटक प्रदर्शन गरिसकेको छ ।

नाटकमा पहिलो ब्याचका शिक्षार्थी

नेसनल आर्ट स्कुलले प्रदर्शन गर्न लागेको ‘बार्दलीको छेउबाट’ नाटकमा स्कुलका पहिलो ब्याचका शिक्षार्थीलाई अवसर दिइएको छ । पहिलो ब्याचमा सफलतापूर्वक उत्पादन गरेको कोर्ष पूरा गरेका शिक्षार्थीलाई नै प्राथमिकता दिएर कलाकारको रुपमा अवसर दिइएको निर्देशक उदासीले बताए । पहिलो ब्याचमा २० जना भर्ना भएपनि विभिन्न कारणले बिचैमा अध्यन छाडेका ६ जनाबाहेक अन्य १४ जनाले सफलतापूर्वक अध्ययन सकेर नाटकका लागि तयार भएको स्कुलका संस्थापक निर्देशक तथा नाटक निर्देशक कृष्ण उदासीले जानकारी दिए । उनका अनुसार शुरुमा कच्चा पदार्थजस्तो आएका शिक्षार्थीहरु अहिले नाटक बुझेर पात्र अनुसार आफूलाई ढाल्न सक्ने भएका छन् । पहिलो ब्याचबाट उत्पादित शिक्षार्थीलाई ‘बार्दलीको छेउबाट’ नाटकमा कुनै न कुनै पात्रको रुपमा उभ्याएको र यसले पोखरेली नाट्य क्षेत्रमा सकारात्मक सन्देश दिने उनले विश्वास व्यक्त गरे ।

पोखरामा नाटक घर बन्दै गरेको प्रति उदासीले खुशी व्यक्त गरेका छन् । उनले नाटक घर र कलाकार जति उत्पादन भयो त्यति राम्रो हुने र नाटकको पनि विकाश हुने धारणा व्यक्त गरे । यद्वपी अस्वस्थ प्रतिष्पर्धा भने घातक हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताए ।

स्कुलका संस्थापक निर्देशक कृष्ण उदासीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्कुलकी संस्थापक÷ब्यबस्थापक ममता मञ्जुल र सञ्चालन स्कुलका मिडिया को–अर्डिनटर तथा पत्रकार सन्देश श्रेष्ठले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button