गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ

पोखरा न्यूज ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न वसन्त थेवे र धनराज योङहाङलाई आज कपनबाट प्रहरीले पक्राउ गरिएको घटनाको अनुसन्धान गर्न गठित छानबिन टोलीका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक गणेश केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका साथबाट दुईवटा पेस्तोल र १० राउण्ड गोलीसमेत बरामद भएको उहाँले बताउनुभयो । यसअघि घटनामा संलग्न पाँच जनालाई गत मंगलबार पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङ, पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत बिहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी रहेका छन् ।

घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुन लगायत भने अझै फरार रहेका छन् ।गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली प्रहारलगत्तै गौचनलाई तत्काल सिभिल अस्पताल पुरयाइए पनि चिकित्सकले मृत घोषित गरेका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button