‘गठबन्धनले जितेमा दश वर्षमा बीस हजार मेगावाट बिजुली’

पोखरा न्युज ।

नेकपा (एमाले) का सचिव गोकर्णराज विष्टले आसन्न निर्वाचनबाट वाम गठबन्धनले जितेमा आगामी १० वर्षमा बीस हजार बिजुली उत्पादन भई विदेशमा बिक्री गरिने बताउनुभएको छ ।

मुसिकोट नगरपालिका १ स्थित पौँदी अमराईमा आयोजित चुनावीसभामा उहाँले भन्नुभयो– “नेपालका नदीबाट पानी बगेर खेर गइरहेको छ तर हामी विदेशबाट विद्युत् निर्यात गर्न विवश छौँ, हामीले जितेमा आगामी तीन वर्षमा मुलुक विद्युतभारभुक्त हुनेछ र दश वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन गरी बिक्री गरिनेछ ।”

मंसिर २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट गुल्मी क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका पूर्वऊर्जामन्त्री गोकर्णराज विष्टले “ठूलाठूला आयोजना सञ्चालन भएमा मुलुकभित्रै युवाहरुलाई रोजगारी वृद्धि भई खाडीमा रगत र पसिना बगाएर जानुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ,” भन्नुभयो ।

मुलुकमा ७० प्रतिशतभन्दा बढी जनताको अभिमत वामपन्थीका प्रति भए पनि कम्युनिष्टहरुको विभाजनका कारण विगतमा नेपाली काँग्रेसले शासन सञ्चालन गरेको उल्लेख गर्दै उहाँले अबको निर्वाचनले त्यो अवस्थाको अन्त्य गरी मुलुकको समृद्धिको यात्रा तय गर्ने बताउनुभयो ।

सचिव विष्टले वामपन्थीको सरकार बनेपछि हाल मासिक रु दुई हजार रहेको वृद्धभत्ता रु पाँच हजारमा पुरयाउने बताउँदै आफ्नो निर्वाचन क्षेत्रको सबै घरमा एकै रङको टीनको छाना लगाउने, हरेक घरमा निःशुल्क बाख्रा वितरण गर्ने, दलितका छोराछोरीलाई स्नातकोत्तरसम्म निःशुल्क शिक्षा दिने, जिल्लाभित्र र जिल्लान्तरका सडक बाटालाई विस्तार, मर्मत एवं निर्माण गर्ने, जिल्लालाई पर्यटकीय र सम्पन्न बनाउने योजना रहेको धारणा व्यक्त गर्नुभयो ।

सभामा नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक वीरबहादुर कार्कीले निर्वाचनपछि समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो । विष्टले आजै थामडाँडा, अरेवा, सिम्ले नेटा र इस्मामा आयोजित कोणसभामा सहभागी हुनाका साथै घरदैलो कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँसंगै चुनावी प्रतिस्पर्धामा रहनुभएका नेपाली काँग्रेसका चन्द्रबहादुर केसी आज धुर्कोट क्षेत्रमा चुनावी प्रचार प्रसार र मतदाताको घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ ।

त्यस्तै क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार एवं एमालेका सचिव प्रदीपकुमार ज्ञवाली वीरबासमा प्रचार अभियानमा हुनुहुन्छ भने ज्ञवालीका प्रतिस्पर्धी काँग्रेसका चन्द्र भण्डारी सिमिचारका कार्यक्रममा व्यस्त रहनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button