विद्यालयलाई शान्ति क्षेत्र बनाउन दलहरुले गरे लिखित प्रतिबद्धता

पोखरा न्युज  ।

बालबालिका, विद्यार्थी, शिक्षक र विद्यालयलाई राजनैतिक दलका गतिविधिहरुमा प्रयोग नगर्ने लिखित प्रतिबद्धता पर्वतमा क्रियाशील ठूला राजनितिक दलहरुले जनाएका छन् ।

सदरमुकाम कुश्मामा आयोजित विद्यालय शान्ति क्षेत्रका लागि सरोकारवालाको प्रतिबद्धता विषयक अन्तर सम्वाद कार्यक्रममा दलहरु र अन्य सरोकारवालाहरुले उक्त प्रतिबद्धता प्रकट गरेका हुन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला सञ्जाल, नागरिक समाज सञ्जाल र गैसस महासंघ जिल्ला शाखाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा

माओवादी केन्द्र र नयाँशक्ति पार्टीका केन्द्र र जिल्ला स्तरका नेताहरुले आसन्न निर्वाचन र अन्य समयमा पनि आफ्ना राजनैतिक सभा, समारोह, जुलुसप्रदर्शन लगायतका गतिविधिहरुमा बालबालिका, विद्यार्थी, विद्यालय र शिक्षकहरुलाई प्रयोग नगर्ने कुरा समेटिएको नौ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । राजनैतिक दलहरुका साथमा जिल्लामा क्रियाशील नागरिक समाजका विभिन्न संघसंगठनहरु, शिक्षकका पेशागत संगठनहरु र सरोकारवाला सरकारी निकायहरुले पनि प्रतिबद्धता जनाएका छन् ।

लिखितरुपमा गरिएको प्रतिबद्धता पत्रमा विद्यालय परिसरभित्र कुनै पनि समयमा कुनै पनि किसिमको राजनीतिक गतिविधि (जस्तै प्रसार –प्रसार, भित्ते लेखन, जुलुस राजनीतिक छलफल, अन्तरक्रिया, गोष्ठी र सभा आदि) गर्ने छैनौं, विद्यालयको पठन पाठनलाई असर पार्ने गरी विद्यालय परिसर तथा आसपासमा सभा, जुलुस तथा रयालीको आयोजना गर्दैनौं,विद्यालय उमेर समूहका बालबालिकालाई कुनै पनि राजनीतिक दलको सभा, जुलुस, रयाली आदिमा स्वयम् सेवकका रुपमा प्रयोग गर्दैनौं, राजनीतिक दलहरुबाट घोषणा गरिएका बन्दका कार्यक्रम, आमसभा तथा ¥यालीका बेला नियमित रुपमा विद्यालय सञ्चालन गर्न र नियमित पठनपाठन गर्न कुनै पनि किसिमको बाधा पु¥याउँदैनौं भन्ने लगायतका विषयहरु राखिएका छन् ।

दलहरु, शिक्षकका पेशागत संगठन र नागरिक समाजका संस्थाद्वारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा विद्यालयमा कुनै पनि किसिमको जात, लिङग, पहुँच, भूगोल, रुप, रङ, धर्म, संस्कृति, आर्थिक अवस्था, शारीरिक बनोट आदिका आधारमा एक अर्कामाथि आक्षेप लगाउने र भेदभावन गर्नुका साथै विद्यालयमा आएका गुनासाको उचित एवं तत्काल सम्बोधनका लागि स्थानीयतहलाई जवाफदेही बनाउँछौं, विद्यालयको कुनै पनि आर्थिक, भौतिक स्रोतसाधन तथा वस्तु आदिलाई राजनीतिक प्रयोजनको लागिप्रयोग गर्दैनौं, स्थानीय निकायमा रहेका राजनीतिक प्रतिनिधिलाई स्थानीयतहको शैक्षिक विकासका गतिविधिमा पूर्ण रुपमा जवाफदेही बनाउँछौं, विद्यालयहाता भित्र कुनै पनि प्रकारको घरेलु तथा अन्य हातहतियार प्रदर्शन गर्न, लिएर जानवा भण्डारण गर्न पूर्णरुपमा निषेध गर्छौं र विद्यालयलाई अत्यावश्यक सेवाको क्षेत्रभित्र राख्दै निर्वाचनको प्रचारप्रसार वा राजनीतिक प्रयोजनका लागि राजनैतिक दल वा उम्मेदवारहरुले शिक्षकहरुलाई प्रयोग तथा परिचालन गर्दैनौं भन्ने विषयहरु पनि परेका छन् ।

संवाद कार्यक्रममा नेकपा एमालेका रामचन्द्र सुवेदी, नेपाली काँग्रेसका कुलप्रसाद उपाध्याय, नेकपा माओवादी केन्द्रका शंकर गिरी र नयाँ शक्ति पार्टीका सुनिल पौडेलले मन्तब्य राख्दै आफूहरु प्रतिबद्धता पत्रमा उल्लिखित बुँदाहरु व्यवहारमा पालन गर्न प्रतिबद्ध भएको बताउनुभयो । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी,प्रहरी नायव उपरिक्षक दिलिप घिमिरे, जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेल र जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले निर्वाचनमा कुनै पनि बहानामा बालबालिका, विद्यार्थी, विद्यालय र शिक्षकलाई राजनैतिक दलका राजनैतिक गतिविधिहरुमा सहभागी नगराउन राजनैतिक दलहरुलाई आग्रह गर्दै नागरिक समाजलाई यस कार्यको नजिकबाट अनुगमन गरी आवश्यक खबरदारी गर्न अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पन्थीले केहीदिन अघि शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल लगायतका नागरिक समाजका संगठनहरुले विद्यालय शान्ति क्षेत्र कायम गर्ने विषयमा दिएको ध्यानाकर्षण पत्रको तत्काल कार्यान्वयन गर्न जिल्लामा क्रियाशील राजनैतिक दल, जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा कार्यालय मार्फत जिल्लामा रहेका सबै विद्यालयहरुलाई पत्राचार गरेर अनुरोध गरि सकिएको जानकारी गराउनु भयो ।

विद्यालय शान्ति क्षेत्रका लागि सरोकारवालाको प्रतिबद्धता विषयक सम्वाद कार्यक्रमको अध्यक्षता नागरिक समाज सञ्जालका संयोजक विश्वराज पाण्डेयले गर्नुभएको थियो भने विषयगत अवधारण पत्र प्रस्तुती शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बोर्ड सदस्य राजेन्द्र पहाडीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अथितिहरुलाई स्वागत गैसस महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा र कार्यक्रमको सञ्चालन सचिव यज्ञप्रसाद शर्माले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button