डीभी परेकालाई ठग्ने गिरोह राजधानीबाट समातियो

पोखरा न्युज ।

विभिन्न राजनीतिक दलका शीर्षनेताहरु विदेश भ्रमणमा जाँदा मानवतस्करी हुने गरेको रहस्य प्रहरीले पत्तो लगाएको दाबी गरेको छ । यद्यपि प्रहरीले कुन दलका कुन नेता विदेश भ्रमणमा जाँदा त्यसरी मानव तस्करी भयो भन्नेचाहिँ खुलाइसकेको छैन ।

महानगरीय अपराध महाशाखाले राजधानीबाट एउटा गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरु डीभी चिठ्ठा पर्नेहरुका लागि नक्कली सर्टिफिकेट बनाउने धन्दामा सक्रिय रहनुका साथै शीर्षनेताहरु विदेश जाँदा मानिसलाई अमेरिका लगायतका देशमा पठाउने धन्दामा पनि संलग्न रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका गिरोहका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दै महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘यसै समूहले विभिन्न राजनीतिक दलका शीर्षनेताहरु विदेश जाने समयमा आफ्ना केही व्यक्तिलाई डेलिगेट्स बनाई सँगै अमेरिका र अन्य देशहरुमा पठाउने र पठाएपश्चात लुकाई राखी प्रतिव्यक्ति १० लाखसम्म रकम असुल्ने गरेको समेत खुल्न आएकोले यसतर्फ समेत अनुसन्धान जारी राखिएको छ ।’

को को समातिए ?

अपराध महाशाखाका अनुसार नक्कली कागजात बनाउने लगायतका धन्दामा पक्राउ पर्नेहरुमा सिन्धुली तीन पाटनका रुद्र मोक्तान, ताप्लेजुङ खेवाङका भुवानीप्रसाद भट्टराई, कालीकोट तिलागुफाका विशालजंग शाही र सुरेशबहादुर शाही छन् ।

त्यसैगरी धरान ११ का विद्यार्थी अभय पोखरेल, स्कुयर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौं चण्डोलका अनिल श्रेष्ठ, मनमैजुका सन्तोष तिवारी र काभ्रेपलाञ्चोक महाभारतका देवराज तामाङ छन् ।

रुद्रबहादुरलाई डीभी परेपछि….

प्रहरीका अनुसार रुद्रबहादुर मोक्तानलाई २०१७ को अमेरिकन डीभी चिठ्ठा पर्‍यो । तर, उनीसँग १२ कक्ष पास गरेको प्रमाणपत्र थिएन । त्यसपछि रुद्रले देवराज तामाङलाई आफ्नो समस्या सुनाए ।

देवराजले म १२ कक्षाको प्रमाणपत्र बनाइदिन्छु भनेर रुद्रबहादुरबाट ३ लाख ५० हजार रुपैयाँ लिए ।

देवराजले सेक्युअर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौं चण्डोलका अनिल श्रेष्ठलाई रुद्रबहादुरको सर्टिफिकेट बनाउन ४५ हजार रुपैयाँ दिए ।

त्यसपछि अनिल श्रेष्ठले १५ हजार कमिसन आफूले राखेर सत्य विनायक कम्युनिकेशनका सञ्चालक विशालजंग शाहीलाई रुद्रबहादुरको सर्टिफिकेट बनाइदिन ३० हजार रुपैयाँ दिए ।

र, विशालजंग शाहीले १२ हजार रुपैयाँ तिरेर सुरेश शाहीलाई रुद्रबहादुरको सर्टिफिकेट बनाउन लगाए ।

अन्ततः सुरेश शाहीले कृष्ण अछामीसँग ५५ सयमा सर्टिफिकेट बनाई रुद्रबहादुर तमाङलाई बुझाए । अछामी हाल फरार छन् ।
प्रहरीले सुरेश शाहीको साइबरबाट प्लट टुको माइग्रेसन र एसएलसीको सर्टिफिकेटका साथै बीएडका मार्कसीट ३ थान र नागरिकता ६ थान बरामद गरेको छ ।

अर्कोलाई पनि डीभी पर्‍यो !

सिन्धुलीका रुद्रबहादुरलाई जस्तै ताप्लेजुङका भुवानीप्रसाद भट्टराईलाई पनि डीभी पर्‍यो । उनीसँग पनि १२ पासको प्रमाणपत्र थिएन । भट्टराईले काठमाडौं मनमैजुका सन्तोष तिवारीसँग आफ्नो समस्या राखे ।

सन्तोष तिवारीले धरानका अभय पोखरेलसँग भट्टराईको भेट गराए । तीन जनावीच ९० हजार रुपैयाँमा १२ कक्षा पास गरेको सर्टिफिकेट किनबेच गर्ने सहमति भयो ।

धरानका पोखरेल ०६९ साल मंसिर १३ गते सरकारी छाप दस्तखत कीर्ते मुद्दामा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।

पक्राउ परेका व्यक्तिहरुलाई छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसरमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

कोरिया जान नक्कली बैंक स्टेटमेन्ट

यसैवीच अघिल्लो महिना भिजिट भिसामा कोरिया जानका लागि नक्कली बैंक स्टेटमेन्ट बनाउने केही युवाहरुलाई प्रहरीले समातेको थियो । दोलखा मिर्गे-२ का विजयकुमार तामाङ लगायत ८ व्यक्तिहरु कोरियामा बैदेशिक रोजगारीका लागि भिजिट भिसामा जान लागेका थिए । टुरिष्ट भएर कोरिया जान उनीहरुले आफ्नो बैंक खातामा टन्न पैसा रहेको बैंक स्टेटमेन्ट कोरियन दूताबासलाई देखाउन अनिवार्य थियो ।

ती व्यक्तिहरुले नक्कली बैंक स्टेटमेन्ट बनाएर दूताबासमा पेश गरेपछि उनीहरुलाई समातिएको प्रहरीले जनाएको छ ।

त्यसरी दूताबासमा नक्कली कागजात पेश गरेर ठगी गरेको आरोपमा पक्राउ पर्नेहरुमा बाबु भण्डारी, दिवाकरबाबु भट्टराई, महेश पाण्डे, पदमराज पाठक र मनोज चौधरीसमेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ठगी मुद्दामा कारवाही गरिएको अपराध महाशाखाले जनाएको छ ।

स्रोत – अनलाइनखबर   https://www.onlinekhabar.com/2017/11/640873

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button