एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा

पोखरा  न्युज ।

फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् ।

यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र रु चार हजार भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ ।

मुलुककै तेस्रो ठूलो जिल्लाको रुपमा रहेको ताप्लेजुङको आधा भूगोल यिनै दुई स्थानले ओगट्छ । कुनै पनि राजनीतिक दलका नेता भोट माग्न त्यहाँ पुग्न सक्दैनन् ।

यही मंसिर १० गते हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा प्रतिनिधिसभाका वाम गठबन्धनका साझा उम्मेदवार योगेश भट्टराईले ‘रेकर्ड’ गरेर आफ्ना योजना र अपिल जनतासमक्ष पठाउनुभयो । यो जिल्लाबाट एक जना मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधिसभा सदस्यका लागि कूल ७ उम्मेदवार मैदानमा छन् । प्रदेश ‘क’ र ‘ख’ मा आठ÷आठ जना उम्मेदवार उठेका छन् ।

त्यसैगरी, नेपाली काँग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले पनि रेकर्डमार्फत नै भोट माग्नुभयो । प्रदेश ‘ख’ मा पर्ने यी ठाउँमा कुनै उम्मेदवार पुग्न सकेनन् । उनीहरुले रेकर्डिङ पठाएर भोट मागे ।

फुङ्लिङका स्थानीय पत्रकारका अनुसार त्यहाँका मतदाता अन्यत्रै व्यवसायमा रहेकाले मत खसाल्न पनि कमै आउने गर्छन् । मतदाताको संख्याको तुलनामा आधा मात्र मत खस्ने गर्छ । काठमाडौँ र भारतका विभिन्न भागमा रहेर आफ्ना व्यवसाय गर्ने भएकाले उनीहरुलाई मतदान गर्न लगाउन पनि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने हुन्छ ।

मुलुकको सुदूरपूर्वको उत्तर छेउमा पर्ने यस जिल्लाका सबै स्थानका जनतालाई चुनावी अभियानमा सहभागी गराउन अत्यन्त कठिन भएपनि निर्वाचन आयोगले त्यहाँका जनताको मताअधिकारलाई सम्मान गर्दै आएको छ ।

जिल्लाका कठिन र विकट स्थानमा निर्वाचन अधिकारी खटाएर भएपनि त्यस्ता विकट स्थानमा बसोबास गर्दैआएका बालिग मतदाताको मतदानलाई सुरक्षित गर्ने कर्तव्यलाई आयोगले ध्यान दिएको छ । यसपटक पनि निर्वाचन आयोगले मंगलबार नै त्यहाँका लागि निर्वाचन टोली पठाइसकेको छ ।

जिल्लाका प्रमुख निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार उक्त निर्वाचन क्षेत्रका लागि जना मतदान अधिकृत पठाइसकिएको छ । आवश्यक पर्ने सबै सामग्रीसहित निर्वाचन टोली बिहीबार त्यहाँ पुगेको छ ।

ती स्थानमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ । त्यहाँबाट मतपेटिका ल्याउन हेलिकप्टर चार्टर गर्नुपर्ने भएकाले अत्यन्त खर्चिलो हुन्छ । जनताका मताधिकार सुरक्षा गर्न निर्वाचन आयोग कटिबद्ध रहेको मुख्य निर्वाचन अधिकृत कार्कीको भनाइ छ ।

निर्वाचन आयोगले यहाँका अतिविकट स्थानका एक हजार ३२१ मतदाताका लागि नगद रु १५ लाख ८५ हजार, सुरक्षाकर्मी बाहेक ७३ जना कर्मचारी र तीन दिनको एकतर्फी यात्राको प्रवन्ध मिलाउनुपर्छ । मतदाताको मत सुरक्षित गर्ने दायित्व पूरा गर्न ठूलो रकम, जनशक्ति र समय खर्चेर थोरै मत संकलन गर्नुपरेको यथार्थ निर्वाचन अधिकृत कार्की सुनाउनुहुन्छ ।

उहाँका अनुसार यसपटक फक्ताङलुङ गाउँपालिकाको ग्याब्लामा ४९ जना मतदाता छन् । उक्त निर्वाचन केन्द्रका लागि नौ जना कर्मचारी खटाइएको छ भने उनीहरुलाई रु दुई लाख तीन हजार ७०० खर्च दिइएको छ । यस स्थानको एक मत सुरक्षित गर्न चार हजारभन्दा बढी पर्न गएको छ ।

यो निर्वाचन केन्द्रबाट स्थानीय तह निर्वाचनका बेला मत खसाल्न पाउने मतदाताको संख्या ४० रहेको थियो भने २९ मत मात्र खसेको थियो ।

त्यस्तै, फक्ताङलुङ गाउँपालिका – ७ को याङ्यामा आधारभूत विद्यालयमा ५७ जना मात्र मतदाता रहेका छन् । त्यस निर्वाचन केन्द्रका लागि निर्वाचन आयोगले नौ जना कर्मचारी खटाएको छ भने उनीहरुलाई रु दुई लाख १७ हजार रकम दिइएको छ । यहाँ पनि प्रतिमत झण्डै चार हजार खर्च बेहोर्नुपर्छ ।

यहाँ स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या ५५ रहेको थियो भने ३६ जनाले मात्र मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत कार्की भन्नुहुन्छ – “प्रजातन्त्रमा जनताको मत अमूल्य हुन्छ ।”

फक्ताङलुङ–६ घुन्सा माध्यमिक विद्यालयमा १३१ मतदाता रहेका छन् । स्थानीय तह निर्वाचनमा १२६ मतदाता थिए तर ६६ जनाले मात्र मतदान गरेका थिए । अहिले रु दुइ लाख १६ हजार ६०० निर्वाचन खर्च दिएर नौ जना कर्मचारीलाई यहाँ खटाइएको छ ।

सिदिङ्वा–१ को कालीखोला निमाविमा यसपटकको निर्वाचनमा मतदाता संख्या १८४ रहेको छ । निर्वाचनका लागि रु दुई लाख १२ हजार २०० खर्च दिएर नौ जना कर्मचारी पठाइएको छ । स्थानीय तह निर्वाचनका बेला यहाँ मतदाता संख्या १८१ र खसेको मत १५५ थियो ।

मिम्वाखोला गाउँपालिका – ५ को किलिङ माविमा अहिले मतदाता संख्या १९४ छ । स्थानीय तहको निर्वाचनमा १७० मतदाता भएकामा १०७ मत मात्र खसेको थियो । अहिले यस निर्वाचन केन्द्रमा नौ जना कर्मचारीलाई रु एक लाख ६० हजार ७०० सहित पठाइएको छ ।

यसैगरी, मेरिङ्देन गाउँपालिका–६ को चागा आधारभूत विद्यालयबाट मत खसाल्ने मतदाताको संख्या २१८ छन् । स्थानीय तह निर्वाचनका बेला मतदाता संख्या १८५ थियो र १३० मतमात्र खस्यो । त्यहाँ रु एक लाख ४० हजारसहित नौ जनाको टोली पठाइएको छ ।

फक्ताङलुङ गाउँपालिकाकै ओलाङचुङगोलामा २२२ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा त्यहाँको मतदाता संख्या २०१ मात्र थियो भने १३१ मतमात्र खसेको थियो । त्यहाँ अहिले रु दुई लाख २० हजार २०० रकम सहित नौ जना कर्मचारी पठाइएको छ ।

त्यसैगरी, सिदीङ्मा गाउँपालिका–१, सिदीङ्मा आधारभूत विद्यालय तेङ्बो निर्वाचन केन्द्रमा २६४ मतदाता छन् । स्थानीय तह निर्वाचनमा मतदाताको संख्या २६६ थियो भने २०० मात्र मत खसेको थियो । यस पटक रु दुई लाख १५ हजार ४०० रुकम दिएर १० जना कर्मचारीलाई त्यहाँ पठाइएको छ ।

सुरक्षाकर्मीको खर्च र हेलिकप्टरमार्फत मतपेटिका ल्याउँदा त्यसको खर्च गृह मन्त्रालयले व्यहोर्ने भएकाले त्यो खर्च यसमा नजोडिएको प्रमुख निर्वाचन अधिकृतको कार्कीले जानकारी दिनुभयो ।

ग्याब्ला प्रावि, याङ्मा आधारभूत विद्यालय, घोन्सा मावि, वडा कार्यलय ओलाङचुङगोला अति दूर्गममा पर्ने भएकाले गत ४ गते नै निर्वाचन अधिकृतसहितको टोली त्यसतर्फ पठाइसकिएको छ ।

यस जिल्लाको कूल जनसंख्या एकलाख ९१ हजार ८१७ रहेको छ भने कूल मतदाता ७९ हजार ३९७ जना छन् । रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button