म्याग्दीमा निःशुल्क मुटु शिविरबाट ८०० जनाले सेवा लिए

जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार सम्पन्न निःशुल्क मुटु शिविरमा ८०० जनाले सेवा लिएका छन् ।

काठमाडाँैको मनमोहन कार्डियो थेरासिक सेन्टर, गंगालाल हृदयरोग केन्द्र, जयन्ती मेमोरियल ट्रस्ट र अमेरिकाको युनीभर्सिटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा सो शिविर सञ्चालन गरिएको हो ।

जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजाका साथै म्याग्दीको बेनीका ८०० जना सर्वसाधारणले सेवा लिएका शिविरका संयोजक विमला न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण, इसिजी, इकोका साथै निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइएको थियो । शिविरमा वरिष्ठ चिकित्सक भगवान कोइराला, गंगालाल हृदयरोग केन्द्रका कार्यकारी प्रमुख डाक्टर ज्योतेन्द्र शर्मा र अमेरिकी चिकित्सकको टोलीले सेवा दिएका थिए ।

मुटुरोगको उपचार गराइरहेका पुराना बिरामीको उपचारमा निरन्तरता र नयाँ बिरामी पहिचानका साथै मुटुरोग न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको संयोजक न्यौपानेले बताउनुभयो ।

गाउँमै विशेषज्ञ चिकित्सकको उपस्थितिमा सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ । पछिल्लो समय नेपालमा मुटु, मिर्गौला, उच्च रक्तचाप, चिनीलगायत नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको छ ।

अस्वस्थ्य खानपान र विलाशी जीवनशैलीका कारण नसर्ने रोगको समस्या बढेको चिकित्सकले बताएका छन् । शिविरमा उपचारका लागि आएका बिरामीलाई मुटुरोगबाट बच्ने उपायको विषयमा परामर्श दिइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button