बेनी–जोमसोम–कोरला सडक दुई लेनको बन्ने

सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम हुँदै कोरला नाका जोड्ने सडक दुई लेनको बन्ने भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत व्यापारिक र पर्यटकीय महत्वको बेनी–जोमसोम–कोरला सडकलाई स्तरवृद्धि गरी दुई लेनको बनाउन आयोजना शुरु भएको छ ।

बेनी जोमसोम कोरला सडक आयोजनाले बेनीदेखि जोमसोमसम्मको ७६ किमी कालोपत्र र जोमसोमदेखि कोरलासम्मको ११० किमी सडक स्तरवृद्धिको काम तीव्र रुपमा अगाडी बढाएको छ ।

बेनी–जोमसोम चारवटा र जोमसोम–कोरलाखण्डलाई सातखण्डमा विभाजन गरेर स्तरवृद्धिको काम गरिएको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । बेनी–जोमसोम सडक स्तरवृद्धिका लागि चारवटा प्याकेजमा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको छ ।

जोमसोमदेखि कोरलाखण्डको ११० किमी दूरीको सडक स्तरवृद्धिको कामको हालसम्म ४० प्रतिशतभन्दा बढी प्रगति भएको छ । विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट कालोपत्रका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजलाई विस्थापित गरेर पक्की पुल निर्माण गरिने भएको छ ।

बेनी–घाँसा खण्डका दुईवटा प्याकेज र घाँसा–जोमसोमखण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको छ । घाँसा–जोमसोमखण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु÷तामाङ÷कोशी÷न्यौपाने जेभीले लिएको छ ।

चारवटै प्याकेजमा प्रारम्भिक चरणमा सडक फराकिलो बनाउने काम तीव्र बनाएको आयोजनाका इन्जिनियर प्रदीप निरौलाले बताउनुभयो । उहाँका अनुसार बेनी–घाँसाखण्डमा डिबिएसडी र घाँसा जोमसोमखण्डमा असपाल्ट प्रविधिको कालोपत्र गरिने भएको छ ।

नालीसहित ११ मिटर चौडाइ रहने सडकको सात मिटर चौडाइमा कालोपत्र गरिने इञ्जिनियर निरौलाले बताउनुभयो । सो सडकलाई प्रदेश नं ४ को ‘भाग्यरेखा’ मानिएको छ ।

सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताउनुभयो ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button