पर्यटक लोभ्याउँदै पाल्पाको ऐतिहासिक जुरे गुफा

प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् ।

जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग रमाएर समय बिताउने गरेको पाइन्छ ।

यसको पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा, पश्चिम भेग एवं सहलकोटको फेदीमा रामपुर उपत्यका पर्छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे हिमालको लोभलाग्दो दृश्य अवलोकन गर्न सकिन्छ ।

रामपुरबाट जुरे गुफासम्म जाने सडक निर्माण भएपछि अहिले यहाँ पर्यटकको आकर्षण बढ्न थालेको हो । यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले जोकोहीलाई मनमोहित पारिरहेको हुन्छ । जुरे गुफा जुरे लेकका नामले समेत परिचित छ । जुरे गुफा क्षेत्रमा झण्डै ५०को हाराहारीमा साना–साना गुफा रहेका छन् ।

विसं २०३८ मा यस क्षेत्रका स्थानीयवासीले चमेरा मार्न जंगलमा जाँदा गुफा फेला परेको कथन छ । गुफाभित्र नाग, सर्प, भगवान्का विभिन्न आकृति, तरबार जस्तो आकृति, केराको खाप, गाईको थुनहरुको आकृति देखिन्छ । दुई तलामा रहेको यस गुफाको माथिल्लो तला १० मिटर र तल्लो तला झण्डै ६० मिटरभन्दा बढी लम्बाइको रहेको छ ।

सहलकोटको उच्च भेगमा वनभित्र रहेको यस गुफामा पौराणिक समयमा भुरे राजाहरुले बसोबास गरी आफ्ना विपक्षीहरुसँग यहाँबाट लडाइँ लडेको स्थानीयवासी बताउँछन् । अझै पनि गुफा आसपासका परिसरमा गोलीहरुको अवशेष फेला पर्ने गरेको स्थानीय बासिन्दा गनबहादुर विक बताउनुहुन्छ ।

रामपुर नगरपालिकाको केन्द्रबाट गाडीमा झण्डै दुई घण्टाको समयमा जुरे गुफा पुगिन्छ । यहाँ एक महिनामा झण्डै ३०० देखि ४००को हाराहारीमा पर्यटक भित्रने गरेका छन् ।

स्थानीय ठूलो पहाड सामुदायिक वन समूहका उपभोक्ताले गुफा आसपासका क्षेत्रमा सौन्दर्यता बढाउन तेजपत्ता, अम्रिसोलगायतका बोटबिरुवा रोपण गरेपछि यस क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको वन समूहका अध्यक्ष रामबहादुर सारु बताउनुहुन्छ ।

“यसको भौतिक पूर्वाधार विकास र विस्तार गर्न सकेको खण्डमा यसलाई नेपालकै पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउन सकिन्छ”, सारुले भन्नुभयो ।

जुरे गुफाको ऐतिहासिक महत्व र पर्यटकको आकर्षण बढ्दै जाँदा यो ठाउँ दिनहुँ शैक्षिक अवलोकन भ्रमण, घुमफिर गर्ने स्थल तथा प्रेमी–प्रेमिकाका लागि एकान्तस्थल बन्न पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button