विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाइने

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले नयाँ प्रविधियुक्त उद्योग स्थापना गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताउनुभएको छ ।

उद्योग संगठन मोरङद्वारा आयोजित प्रतिनिधि तथा प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सांसद पण्डितले विराटनगरको व्यापार वृद्धिका स्थानीय बजार बेलुकी १० बजेसम्म सञ्चालन गर्नका लागि सुरक्षाको उचित प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै मोरङ क्षेत्र नं ३ बाट नवनिर्वाचित सांसद भानुभक्त ढकालले प्रतिपक्षको सहमतिका आधारमा आगामी पाँच वर्षभित्र राष्ट्रलाई समृद्धि दिने दृढता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादीकेन्द्र)बाट मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले उत्पीडन, गरीबी र सुकुम्बासी समस्या समाधान गर्न मुख्य ध्यान केन्द्रित रहेको बताउँदै विराटनगरलाई अन्तरराष्ट्रिय मापदण्डअनुसारको शहर निर्माण गरिने विश्वास दिलाउनुभयो ।

पूर्वसञ्चारमन्त्री तथा नेपाली काँग्रेस मोरङ क्षेत्र नंं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य डा मीनेन्द्र रिजालले प्रदेश नं १ का सबै प्रदेश सदस्यको सहमतिमा विराटनगरलाई राजधानी र विराटनगर विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै चक्रपथको कालोपत्रे, सिँचाइ तथा तटबन्ध निर्माणमा जोड दिनुभयो ।

एमालेबाट मोरङ क्षेत्र नं १ मा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले आगामी दिनमा कृषिको व्यवसायीकरण र स्वरोजगार अभियान चालिने जानकारी दिनुभयो ।

कार्यक्रममा मोरङबाट विजयी हुनुभएका प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी, उपेन्द्रप्रसाद घिमिरे, विजयकुमार विश्वास, शिवनाराणसिंंह गनगाई, कुलप्रसाद साँवा, सूर्यम राई, ज्ञानेश्वर राजबंसी, चुमनारायण तवदार, केदार कार्की र जयराम यादवले आगामी दिनमा यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर वृद्धि गर्ने र तिनलाई विकासको अनुभूति दिलाउने दृढता व्यक्त गर्नुभयो ।

उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले यस क्षेत्रको विकासका लागि १७ बुँदे ज्ञापनपत्र नवनिर्वाचित सदस्यलाई बुझाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button