पोखरा सडक महोत्सब थप विशेषता बोकेर आउदैछ- संयोजक गुरुङ

सन् २००० बाट पर्यटकीय नगरी पोखरामा  सुरु भएको पोखरा सडक महोत्सब १८ पटक सम्म सफलता पुर्वक सम्पन्न भइसकेको छ । ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ मूल  नारा बोकेको यो महोत्सवले अफसिजन मानिने यो समयमा विदेश घुम्न जाने नेपाली लाइ स्वदेसमै रमाउने वातावरण मात्र सिर्जना गरेन सयौ विदेशीहरुलाई समेत नेपाल भित्र्याउने मार्ग देखायो।

सुरुवाती क्रममा १ किलोमिटरमा १ दिन हुदै ३ .५ किलोमिटरमा ५ दिनसम्म संचालन हुदै आएको यो महोत्सब आफ्नो नियमित क्यालेन्डर अनुसार यसपाली पनि पुष १३ देखि १७ गते सम्म पोखरा लेकसाइडमा संचालन हुदैछ । सडक महोत्सबको आयोजक रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ( रेबान ) पोखरा  यतिबेला बिभिन्न उपसमिति मार्फत महोत्सबको तयारीमा जुटेको छ ।  पोखरामा रहेर लामो समय देखि रेस्टुरेन्ट ब्यबसाय संचालन गर्दै आएका पर्यटन ब्यबसायी चौ बहादुर गुरुङ १९ औ सडक महोत्सबको संयोजक रहेका छन् । गुरुङ रेबान पोखराका अध्यक्ष समेत हुन् ।  अध्यक्ष भन्दा फरक व्यक्तिलाई संयोजक बनाउने रेबान पोखराको परम्परा तोड्दै रेबानले यसपाली अध्यक्ष गुरुङको काधमा जिम्मेवारी थुपारेको छ ।

यसै सन्दर्भमा उनै गुरुङसंग पोखरा न्युज डटकमले गरेको कुराकानीको छोटो अंश हामीले यहाँ प्रस्तुत गरेका छौ ।

अध्यक्ष भएको दोश्रो वर्ष पहिलो पटक पोखरा सडक महोत्सबको संयोजक  हुनुभएको छ कस्तो अनुभब गरिरहनुभएको छ ?

मलाई सथिहरुले ठुलो जिम्मेवारी बोकाईदिनुभएको छ । म संयोजक बस्दिन भन्दापनि साथीहरु सबैले एकै स्वरले तै बस्नुपर्छ भन्नुभयो, साथीहरुको सहयोगको अपेक्षा सहित जिम्मेवारी बोकेको छु । यो उमेरमा बिहान देखि बेलुका सम्मको खटाइले थकित भएपनि साथीहरुको सहयोग र हौसलाले उत्प्रेरित भएको छु । देश विदेशले नियालेको महोत्सब भएकाले मलाई ठुलो जिम्मेवारी बोध भएको छ ।

महोत्सब नजिकिदै छ, कसरि अगाडी बढिरहनुभएको छ ? तयारी कहाँ पुगेको छ ?

महोत्सवलाई सम्पन्न गर्नको लागी मेरो  संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मुल समिति गठन गरिएको छ । त्यस भित्रै रहेर महोत्सवको तयारी तथा ब्यबस्थापनका लागि थप विभिन्न उपसमितिहरु गठन गरिएको छ । समितिका साथीहरु अहोरात खटिएर काम गरिराख्नु भएको छ, भर्खर मात्र  हामी बुटवल, भैरहवा हुदै सौराहा लगाएतको स्थानमा महोत्सबको प्रचारप्रसारको लागि  पुगेर फर्किएका छौ । आइतवार हामीले काठमाण्डौ पुगेर प्रचार प्रसार गर्दैछौ । अहिले हामीले महोत्सब पुर्व तयारी र प्रचारप्रसारमा जोड दिईरहेका छौ  ।

लगभग हामीले पुर्व तयारीका कार्यहरु पुरा गरिसकेका छौ । समग्रताको हिसाबले भन्दा ८० प्रतिशत काम सम्पन्न गरेका छौ  । हामीले २ -४ दिन भित्रमै  सबै तयारी पुरा गर्छौ ।

पोखरामा विभिन्न नामवाट मेलामहोत्सब भइरहेका छन् । सडक महोत्सबमा नै दर्शक/ पर्यटक  किन सहभागी हुने ? कसरि प्रचार प्रसार गरिरहनुभएको छ ?

अहिले देशभर महोत्सब  फेसनको रुपमा चलिरहेको छ । महोत्सब आयोजना गर्नु मात्र भन्दा पनि के उधेश्य राखेर गरिएको छ भन्ने कुरा प्रमुख हो  । सडक महोत्सब पोखराको मात्र हैन नेपालकै छुट्टै विशेषता बोकेको महोत्सब हो । हाम्रो नारा नै छ ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ । सांगीतिक माहोल संगै सडकमा खादै हिड्नुको मज्जा बेग्लै हुन्छ । देश बिदेशका ख्याती प्राप्त कलाकारहरु वाट सांगीतिक- सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने महोत्सब पनि यहि हो । हामी नेपालीको एक अर्काको चाडवाड रितिरिवाज लाइ सम्मान गर्ने चलन छ । क्रिसमस नयाँवर्ष जस्ता चाडबाडमा एकआपसमा खुसि साटासाट गर्ने माध्यम पनि यो महोत्सब बनेको छ । यसकारण नै हामीलाई हाम्रा दर्शक तथा पाहुनाहरुले साथ दिईरहनु भएको छ ।

पोखरामा सडक महोत्सव आयोजना गरिनु अघि अ्रग्रेजी नयाँ बर्ष मनाउनका लागि कैयौं नेपालीहरु विदेशमा जाने प्रचलन थियो भने नेपालमा आकर्षक इभेन्ट नहुदा विदेशी पर्यटकहरु पनि यो समयमा नेपाल आउने गर्दैनथे । तर विगत १८ बर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीहरुलाई पनि नयाँ बर्ष पोखरामा मनाउनु पर्छ भन्ने माहोल सिर्जना  भएको छ । नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ वर्ष वनाउन इन्डियाको गोवा जाने गर्दथे  । यही महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकहरुको आगमन निकै बढ्दो रुपमा रहेको छ । संचारकर्मी साथीहरुले पनि यहि अनुसार प्रचारप्रसार गरिदिनुभएको छ, म यसमा आभार प्रकट गर्न चाहन्छु ।

महोत्सबमा रेबानले हरेक बर्ष केहि नयाँ कुरा समेट्न खोजेको हुन्छ । यसपालि के छ त्यस्तो ?

हामीले यसपटक पनि सांस्कृतिक पाटोलाइनै बढी जोड दिईरहेका छौ । हामीले सातै प्रदेशवाट  एउटा एउटा सांस्कृतिक टोलि ल्याउने प्रयत्न गरिरहेका छौ । जसका लागि नेपाल पर्यटन बोर्डलाइ जिम्मा दिईसकेका छौ । भारतीय, चिनिया लगायत अन्य मुलुकका सांस्कृतिक टोलि ल्याउने वारेमा पनि कुराकानी अगाडी बढाई रहेका छौ । दिउसोमा ख्यातिप्राप्त कलाकारको लोकदोहोरी र साझमा देश बिदेशका पप  ब्याण्डको  प्रस्तुति रहनेछ ।

यसपाली हामीले कृषिलाई प्राथमिकतामा राखेका छौ । महोत्सब भित्रै हामीले सुन्तलाबारी महोत्सब आयोजना गर्दैछौ जहाँ कास्की, तनहुँ, गोर्खा, स्याङ्जा, पर्बत र लमजुङ गरि ६ वटा जिल्लाका  शुन्तलाका  स्टल रहने छन् । वहाहरुले सुन्तला बाहेकका अन्य कृषिजन्य उत्पादन समेत ल्याउदै हुनुहुन्छ ।

यसपाली मेडिकल पार्टनरको रुपमा नेपाल मेडीसिटि हस्पिटल रहेकोले महोत्सब अवधिभर दर्शक तथा पर्यटकले निशुल्क रुपमा मधुमेहको स्वास्थ्य परिक्षण गर्न पाउनुहुनेछ । महोत्सब थप विशेषता थपेर ल्याउने हामीले प्रयत्न गरिरहेका छौ । हामीले पस्कने खानाका परिकारको मेनुमा १० देखि १५ प्रतिशत छुटको समेत व्यवस्था गरेका छौ  ।

छुट भनेर पर्यटन ब्यबसायिले झुट बोल्ने गरेको र  उल्टो अन्य समयमा भन्दा बढी असुलेर लुट गर्ने गरेको आरोप लाग्ने गरेको छ  नि …

सामान्य तया यहाँ पनि अर्थशास्त्रको नियम लगाउने गरेको पाइएको छ, माग बढ्नासाथ मूल्य बढाउने । तर हामीले हाम्रा साथीहरुलाई मेनु नबढाई छुट लागु गर्न निर्देशन दिएका छौ  । होटल संघलाई पनि अध्यक्ष मार्फत मूल्य नबढाउन उल्लेख गरेका छौ । हामी यो  नियन्त्रण होस् भन्ने चाहन्छौ ।

शान्ति सुरक्षाको बिषयलाइ कसरि हेरिरहनु भएको छ ?

महोत्सबको सबैभन्दा महत्वपूर्ण बिषयनै शान्ति सुरक्षा हो । शान्ति सुरक्षाको लागि झन्डै  दुई सय जनाको हाराहारीमा प्राइभेट सुरक्षागार्ड लाई जिम्मा दिईसकेका छौ । रेवान संग सम्बन्धित सुरक्षा गार्ड, लेकसाइडका बिभिन्न क्लब, हेल्थ क्याम्प आदिले पनि सुरक्षामा टेवा पुर्याउने छन् । स्थानीय प्रशासन तथा सुरक्षा निकायवाट अतुलनीय सहयोग भइरहेको छ । उहाहरुले हामीलाई अतिरिक्त समय अहोरात्र खटिएर सहयोग गरिरहनु भएको छ, जसका कारणनै हामी ढुक्क हुन् सकेका छौ । महोत्सब स्थलमा हामीले सिसिक्यामराको माध्यमबाट पनि निगरानी राख्नेछौ ।

महोत्सबले पोखराको पर्यटन प्रबर्द्धन र आर्थिक विकासमा कस्तो भूमिका खेल्छ ?

वास्तबमा यो महोत्सवले समग्र पोखराको आर्थिक विकासमा टेवा पुर्याईरहेको छ । महोत्सबका वेला यहाँका हरेक ब्यबसायहरु चलायमान हुने गर्दछन । पर्यटनसंग सम्बन्धित ब्यबसाय होटल , रेस्टुरेन्ट, विभिन्न प्रकारका साहषिक खेलसंगै  माछा, मासु, फलफुल लगाएतका कृषिजन्य उत्पादनको खपत अधिक  मात्रमा हुन्छ । किराना पसल, यातायातका साधन, लत्ताकपडा आदिमा पनि कारोवार राम्रै हुछ । यसकारण पनि यो महोत्सवले पोखराको पर्यटन प्रबर्द्धन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

वास्तबमा यो महोत्सबको आयोजक रेवान भएता पनि  महोत्सबलाइ स्थानीय जनता , संघ सस्था, व्यबसायी, पोखराका बुद्धिजिवी, समाजसेवि, राजनीतिकर्मी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी, क्लव, आमा समुह, सहयोगी दाता, संचारकर्मी एवं सम्पुर्ण शुभेच्छुकहरुले  आफ्नै महोत्सब ठानी सहयोग गर्दै आउनु भएको छ । उहाहरुकै देनलेनै हामी आज १९ औ संस्करण सम्म आइपुगेका छौ र यो एउटा ब्रान्ड बनेको छ  । सबैको साथले नै यो सम्भब भएको हो त्यसैले  बिगतका बर्षमा जस्तै माया गरिदिन आग्रह गर्दै पुष १३ गते सांस्कृतिक झाकीसंगै महोत्सब स्थल कोमागाने पार्कमा उपस्थितका लागि अनुरोध गर्दछु, धन्यबाद ।

प्रस्तुति- गणेश बराल

पोखरा न्युज डटकम  

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button