प्रचारप्रसारको अभावमा पाल्पाको ‘बगनास क्षेत्र’ ओझेलमा

पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानीको ऐतिहासिक स्थल ‘बगनास क्षेत्र’ ओझेलमा परेको छ ।

प्रचारप्रसारको अभाव, स्थानीयको पहलकदमी हुन नसक्नु र आवश्यक पूर्वाधार नबन्दा पाल्पा सदरमुकाम तानसेनबाट नजिकै रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय बगनास क्षेत्र ओझेलमा परेको हो ।

समुद्री सतहदेखि एक हजार ४७० मिटर उचाइमा रहेको बगनास डाँडाबाट सूर्योदय अवलोकन गर्न सकिन्छ । सूर्योदयदेखि प्राकृतिक मनोरम दृश्यको सहज अवलोकन गर्न सकिने भएकाले पर्यटकीय गन्तव्य हुने सम्भावना बोकेको यस क्षेत्रमा पूर्वाधारको विकास हुन सकेको छैन ।

मानिसहरु सूर्योदय अवलोकन गर्न विशेष चाहना राख्नेहरु सूर्योदय हुनु अघि नै त्यहाँ पुग्ने गर्दछन् । गर्मीको समयमा शितल हुने भएकाले मानिसहरु गर्मी छल्न त्यहाँ पुग्ने र प्रकृतिसँग सामिप्यको लाभ लिन केन्द्रित हुन्छन् ।

सुन्दर हिमशृंखला, माडीफाँट, तानसेन बजार र तराईका फाँट अवलोकन गर्न सकिने भएकाले बगनासलाई पर्यटकीय क्षेत्रमा रुपमा विकास गर्नुपर्ने स्थानीयबासिन्दा टेकबहादुर रानाले बताउनुभयो ।

चेचिकोटी (बगनास देवी) मन्दिरको आफ्नै महत्व रहेकाले पनि बहुसाँस्कृतिक र बहुजातीय महत्वको गन्तव्य रहेको मानिन्छ । घुमफिर, पिकनिक र मन्दिर दर्शनका लागि पर्यटक तथा दर्शनार्थी यहाँ आउने गर्दछन् ।

मन्दिरको महिमाबारे प्रचारप्रसार गर्न सकेको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय बासिन्दा विष्णुप्रसाद विकले बताउनुभयो ।

बडादशैँको नवदुर्गामा विशेष मेला लाग्ने यस स्थलमा ऐतिहासिक कोटघर पनि रहेकाले यसक्षेत्रको महत्व धेरै पहिलेदेखि नै रहेको अनुमान स्थानीयबासिन्दाको रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button