बाँझिएको काँसघारी बन्यो काउलीबारी

झापाको मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अग्र्यानिक कृषि फार्म शुरु गरेका छन् ।

युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ ।

“हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्”, फार्मका सञ्चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भन्नुभयो, “सबैको साथ पाए नमूना कृषि फार्मका रुपमा मुलुकभर चिनाउने योजना छ ।” आचार्यसँगै रामहरि नेपाल, तेजबहादुर आचार्य, धननारायण श्रेष्ठ, इन्दिरा कार्की, राजेन्द्र कडरिया, चिरञ्जीवी भट्टराईलगायत समूहले रु २२ लाखको लागतमा यसैवर्षदेखि फार्म शुरु गरेको हो ।

अनुत्पादक कासघारीका रुपमा रहेको बाँझो जमिन भाडामा लिएर उनीहरुले तरकारी उत्पादन गरेका हुन् । उत्पादन भएको काउली र रायो फार्मबाटै बिक्री भइरहेको सञ्चालक चिरञ्जीवी भट्टराई बताउनुहुन्छ । फार्ममा लसुन, आलु, खुर्सानीलगायत तरकारी हुर्किरहेको छ । छिट्टै हाइटेक टनेल निर्माण गरेर बाह्रमासे सब्जी र नर्सरी उत्पादनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

फार्ममा झापा, सोलुखुम्बु र ताप्लेजुङका गरी १६ जना जेटिएका विद्यार्थी अध्ययनरत छन् । उनीहरुले फार्ममै अध्ययन तथा बालीको रेखदेख र स्याहार गर्दैआएको सञ्चालक रामहरि नेपालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बजारको समस्या छैन ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button