सडक महोत्सबमा पाहुनालाई स्वागत गर्न पोखराका होटलहरु तम्तयार छन् – अध्यक्ष तुलाचन

विकल तुलाचन  – अध्यक्ष, पश्चीमान्चल होटल संघ पोखरा

‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ’ भन्ने मूल नारा बोकेको सडक महोत्सव यहि पुस १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइडमा संचालन हुदैछ । सडक महोत्सबमा प्रतक्ष्य अप्रत्यक्ष रुपमा पोखराका सम्पूर्ण पर्यटन ब्यबसाय तथा संघ सस्थाहरु जोडिने गर्दछन । महोत्सबमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाइ स्वागत गर्ने स्थान भनेको उनीहरु बास बस्ने थलो अर्थात होटलहरु नै  हुन् । भनिन्छ “फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन” होटलले गर्ने आतिथ्य सत्कारले पर्यटकको मनमा जुन छाप छाड्छ त्यसलेनै होटल तथा महोत्सबमा पर्यटकले गर्ने खर्चको निर्धारण गर्दछ । महोत्सबको  बेला पोखरा भित्रिने पर्यटकको बसाइ एक दिन मात्र लम्ब्याउन सकेमा पनि त्यसले समग्र पोखराको आर्थिक कारोबारमा  उल्लेख्य योगदान पुग्न सक्दछ  ।

यसै सन्दर्भमा सडक महोत्सबमा होटलको तर्फवाट आधिकारिक धारणा बुझ्न हामीले पश्चिमान्चल होटल संघका अध्यक्ष विकल तुलाचन संग गरेको कुराकानीको छोटो अंश यहाँ प्रस्तुत गरेका छौ ।

१९ औ सडक महोत्सबको मिति नजिकिदै छ , पोखरा भित्रिने पर्यटक पहिला तपाइँहरुकोमा आइपुग्ग्छन  तयारी कस्तो छ ?

सडक महोत्सबको आयोजक रेवान पोखरा भएतापनि महोत्सबमा पश्चिमान्चल होटल संघ अर्थात् यहाँका होटलहरुको दायित्व ठुलो  भएको हामीले महशुस गरेका छौ । पोखरामा आएका अतिथिलाई स्वागत गर्ने पहिलो ढोका भनेको नै होटलहरु हुन् । त्यसकारण पनि यो महोत्सबको सबैभन्दा बढी चासो र दायित्व हामीलाई हुने गर्दछ । हामीहरु कसरी महोत्सबलाइ सफल पार्ने र हाम्रो ढोकामा आउने पाहुनालाइ सन्तुष्ट पर्ने भनेर लागिपरेका छौ । हामी पाहुनालाई पोखरामा  स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको छौ ।

महोत्सबमा आउने पाहुनालाइ आकर्षित गर्ने के के गर्दै हुनुहुन्छ ? पाहुनालाई छुट/ लाभ केहि छ कि ?

हामीले बढी भन्दा बढी आतिथ्य सत्कारमा जोड दिनेछौ । होटलमा बसुन्जेल हामिहरुले उहाहरुको सेवा सुविधामा कुनै कमि आउन दिनेछैनौ । छुटको कुरामा पहिला धेरै आरोप प्रत्यारोपहरु लाग्ने गरे त्यसैले अहिले  हामीले महोत्सबको अवसरमा पोखरा पाल्नुहुने पर्यटकलाइ पुर्व प्रकाशित दररेटमै सेवा उपलब्ध गराउन निर्देशन दिईसकेका छौ । होटलले आफ्ना पाहुनालाई आकर्षित गर्न स्वइच्छाले ब्रेकफास्ट फ्री लगायतका छुट दिन सक्छन ।

होटलहरुले अन्य समय भन्दा महोत्सबको बेला पैसा बढाएर लिने गर्दछन भन्ने  गुनासो  सुनिन्छ  नि, किन ?

हो, यस्तो आरोप  हामीलाई लाग्ने गरेको छ  । बिशेष गरि होटल संघ भन्दा बाहिरका केहि गैह्र सदस्यहरुको मौकामा चौका हान्ने प्रबृत्तिका कारण यस्तो समस्या आएको हो । यसपाली हामीले सबैलाई पुर्व प्रकशित दरमै सेवा उपलब्ध गराउन निर्देशन दिएका  छौ । यदि कोही कसैले यस्तो गरेको जानकारी हामीले पाएमा अथवा गराएमा हामीले कारबाही गर्नेछौ ।

यदि कसैले बढी रेट लिएको सप्रमाण तपाइहरुलाई उजुरी गर्छ भने कस्तो कारबाही हुन्छ त ?

हामीले गर्ने भनेको सदस्यता खारेजी तथा रोक्का गर्ने नै हो । कसैले आफ्नो नियमित दररेट भन्दा माथि शुल्क लिएको प्रमाणित भएमा कालोबजारी एन अन्तर्गत कारवाही अघि बढाउन मिल्छ ।

होटल बुकिङ्गको अवस्था कस्तो छ ? पर्यटकहरु कति संख्यामा आउने अनुमान गर्नुभएको छ ?

महोत्सबको लागि अझै केहि दिन बाकि  छ ।  महोत्सको अन्तिम दुइ दिन पर्यटकको चाप् बढ्ने गर्दछ, कमै मात्र नेपालीहरुले अग्रिम बुकिंङ् गरेर आउने गर्दछन । हाम्रोमा नेपालीसंग एडभान्स लिएर बुक गर्ने प्रचलन नरहेकाले केहि बुक गरेका आन्तरिक पर्यटक समेत अन्तिम समयमा आउदैनन । अहिलेसम्म ६० – ७०  प्रतिशत जस्तो बुकिंङ् भइसकेको छ । पर्यटकको संख्यामा गतसाल भन्दा २० -३०  प्रतिशतले वृद्धिहुने अनुमान गरेका छौ ।

महोत्सबमा आउन चाहने पर्यटकलाई के भन्न चाहनुहुन्छ ?

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै  राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ब्राण्ड बनेको  पोखरा सडक महोत्सब नजिकिदै छ । महोत्सबको बेला  पोखरामा ६० प्रतिशत जस्तो पुरानै पर्यटक आउनुहुन्छ भने बाकि नयाँ अनुहार हामीले पाउने गरेका छौ । म उहाँहरु सबैलाई सडक महोत्सबमा स्वागत गर्न पोखराका होटलहरु तम्तयार छन् भन्दै होटल संघ तथा व्यक्तिगत तर्फवाट हार्दिक निमन्त्रणा गर्दछु ।

विकल होटल फेयर माउन्टका संचालक समेत हुन् ।

प्रस्तुति – गणेश बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button