धौलागिरि आइसफल जाने पदमार्ग निर्माण

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ ।

छ वर्ष अगाडि ट्रेकिङ एजेन्टस एशोसिएशन अफ नेपाल(टान) पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तररुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

मनोरम हिमशृंखलाको दृष्यावलोकन गर्न सकिने यो पदमार्गमा पर्यटन कार्यालय पोखरामार्फत विनियोजन भएको रु १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।

झण्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायीरुपमा बसोबास गरी २८ पदमार्ग निर्माण गरिएको धौलागिरि आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले जानकारी दिनुभयो । उहाँका अनुसार, रघुगंगा नदीको किनारमा ससलधारा कोखेभिरदेखि कालीबराह खोलासम्म पदमार्ग निर्माण गरिएको छ ।

अक्करे भिरमा डोरीको सहायताले भिर फोरेर पदमार्ग निर्माण गरिएको छ । “भिरमा जोखिम मोलेर पदमार्ग निर्माण ग¥यौँ, अझै पनि केही भिरमा पदमार्ग खन्नुपर्नेछ, त्यसको लागि सरकारी तवरबाट सुरक्षित हुने सामग्री उपलब्ध भएमा सहज हुने थियो”– अध्यक्ष पाइजाले भन्नुभयो ।

अधिकांश ठाउँमा ढुंगाको सिँढी चिनेर पदमार्ग बनाइएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण भएको छ ।

ट्याक निर्माण भएको पदमार्गमध्ये रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने छ भने दहबुकीदेखि कालीबराह खोलासम्म सिँढी चिनेर पदमार्ग बनाइएको छ ।

कुइनेमंगले र चिमखोलातर्फको भूभागमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुग्नको लागि अब झण्डै तीन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झण्डै ५० मिटर जति भू–भाग कडा चट्टानको भिरलाई काटेर बनाउनुपर्ने अध्यक्ष पाइजाले जानकारी दिनुभयो । त्यस्तै कालीबराहको दोभानबाट कालीबराहताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटो बाटोलाई स्तरोन्नति गर्नुपर्ने छ ।

पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्सांकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको धौलागिरि आइसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताउनुभयो ।

कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्सांकन गरी सूचनामूलक संकेतबोर्ड राख्ने र खानेपानी, भ्यु टावर, लजलगायतका पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने सल्लाहकार केसीले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button