विद्युत् नहुँदा पर्यटकीय गुफाबजार अन्धकारमा

केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ ।

पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो ।

चैनपुर नगरपालिका–१ नूनढाकीस्थित यी बजार नजिकैसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । तर यी बजारमा विद्युत् विस्तारका लागि बजेट अभाव हुँदा ढिलाइ भइरहेको छ । विद्युत् नहुँदा गुफा, सुके र जोरपोखरी बजारका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

यहाँका बासिन्दाले १७ वर्षयता प्रयोग गर्दै आएको सिमखर्क जलविद्युत् आयोजना जीर्ण बनेपछि पाँच वर्षयता सास्ती व्यहोर्दै आएका छन् । दशवर्षे ग्यारेण्टी दिएको आयोजनाबाट धेरै लाभ लिए पनि केन्द्रीय प्रसारण लाइनको विद्युतीकरणमा ढिलाइ हुँदा दुःख व्यहोर्नु परिरहेको गुफाबजारको मकालु होटलका सञ्चालक हरिप्रसाद खनालले बताउनुभयो ।

उहाँका अनुसार १५ दिनयता जलविद्युत् आयोजनाको मेसिन बिग्रिएर विद्युत् अवरुद्ध छ । विद्युत् नहुँदा गुफाबजार पुगेका पर्यटकसमेत प्रभावित हुने गरेका छन् । विद्युत् नभएपछि मोबाइल चार्ज, क्यामेरा चार्ज, खाना पकाउन, पानी तताउन तथा रातमा बत्ती बाल्न समस्या भएको स्थानीयवासी बताउँछन् ।

बजारमा विद्युत् विस्तारका लागि दुई वर्षअगावै विद्युत् विस्तार समिति बनिसकेको छ । विद्युतीकरणका लागि स्थानीयवासीले समेत आवश्यक रकम जम्मा गर्न प्रतिघरधुरी रु १५ हजारसम्म जम्मा गरिसकेका छन् । तर तत्कालै विद्युत् विस्तार नभएको गुनासो उनीहरुको छ ।

विद्युतीकरणका लागि केही पोल र तारको अभाव हुँदा विद्युतीकरण गर्न ढिलाइ भएको विद्युत् विस्तार समितिका सचिव केदारनाथ लिम्बूले बताउनुभयो । अहिले केन्द्रीय प्रसारण लाइनको पोल र तार सुकेबजार नजिककै गुफापोखरी आधारभुत विद्यालयसम्म पुगेको छ ।

पटकपटकको पहलपछि बल्ल आएको लाइन पनि विस्तार गर्न ढिलाइ भएको विद्यालयकी प्रधानाध्यापक हिमा खनाल बताउनुहुन्छ । चालु आर्थिक वर्षमा विद्युत् विस्तारका लागि नगरपालिका र वडा कार्यालयसँग पहल भइरहेको स्थानीयले बताएका छन् । सन् २००० तिरै पर्यटकीय बजारमा विद्युतीकरणका लागि गोरखा वेल्फेयर सर्भिसले होली काँदुरीमार्फत जलविद्युत् आयोजना र खानेपानी आयोजना बनाएको थियो । तर मुहान नै सुक्दै जान थालेपछि अहिले यो मुहानको खानेपानीले बजारवासीलाई पुग्दैन । विद्युत्का लागिसमेत पाँच वर्षयता हिउँदमा निकै समस्या आइरहेको छ । बजारवासीले केन्द्रीय प्रसारण लाइनको विद्युत् यथाशीघ्र जडान गरिदिन माग गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button