पर्यटकको प्रतीक्षामा म्याग्दीको ‘गुफाको डाँडो’

म्याग्दीको बेनी नगरपालिका वडा नं ५ गाजनेमा पर्ने निकै सुन्दर, आकर्षक र मनमोहक दृश्य देख्न सकिने ‘गुफाको डाँडो’ भौतिक पूर्वाधार र पर्यटकको पर्खाइमा रहेको छ ।

पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा म्याग्दीकै उत्कृष्ट पर्यटकीयस्थल बन्नसक्ने गुफाको डाँडो ओझेलमा परेको हो ।

रमणीय एवं पर्यटकीयस्थलका रुपमा चिनिए पनि गुफाको डाँडोमा विकासका पूर्वाधारले ठाउँ पाउन सकेको छैन । गुफाको डिलका नामले समेत चिनिएको उक्त डाँडो पर्यटकका लागि निक्कै आकर्षकस्थलका रुपमा अवस्थित छ । तर पनि भौतिक पुर्वाधार नहुँदा पछि परेको गुफाको डाँडो डाँडोमै सीमित बन्न पुगेको हो । पर्यटकीय, ऐतिहासिक र रमणीयस्थल रहे पनि प्रचारप्रसारको कमी, सहज यातायातको असुविधा र उपयुक्त पदमार्ग नहुँदा गुफाको डाँडो ओझेलमा परेको स्थानीयवासी एवं जनकल्याण माविका शिक्षक शिव बानियाँले बताउनुभयो ।

नेपालमा बाइसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औँ शताब्दीताका तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किंवदन्ती रहेको छ । जगन्नाथ मन्दिरको छुट्टै महत्व र विशेषता भए पनि अहिलेसम्म गाजने गाउँ र गुफाको डाँडामा विकासको कुनै पनि नजर पर्न सकेको छैन । गुफाको डाँडोमा तीनवटा हेलिकप्टर अट्नसक्ने हेलिप्याडसमेत रहेको स्थानीयवासी समेत रहनुभएका म्याग्दीका पत्रकार प्रताप बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी सदरमुकाम बेनी बजारदेखि तीन घण्टाको पैदल दूरीमा रहेको गुफाको डाँडामा सवारी साधनमार्फत डेढ घण्टामा सजिलै पुग्न सकिन्छ । समुन्द्री सतहदेखि झण्डै दुई हजार २०० मिटरको उचाइमा अवस्थित गुफाको डाँडोबाट माघ, फागुन र चैत महिनामा ढकमक्क फूलेको लालीगुराँसको दृश्य हेर्न पाइन्छ ।

वनजंगलको नजिकै रहेको गुफाको डाँडोमा जुनसुकै समयमा पनि वनभोज खानलाई जान सकिन्छ । लालीगुराँसको सुगन्ध लिँदै धौलागिरि, अन्नपूर्णलगायतका हिमाललाई पृष्ठभूमिमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने गुफाको डिलबाट देखिने हिमाल र आकाशको दृश्य धर्तीसँग जोडिन लागेको क्षितिज जस्तो देखिन्छ । प्रसिद्ध जगन्नाथ मन्दिरमा जाने भक्तजन गुफाको डाँडोमा पुग्ने गरेका छन् । मन्दिरदेखि नजिकै रहेको डाँडोमा पुग्दा थकाइ मेटिनुका साथै रमाइलो र आनन्दको अनुभूति भएको बेनीबाट जगन्नाथ मन्दिरको दर्शन र गुफाको डिल हेर्न त्यहाँ पुग्नुभएका स्थानीय व्यापारी एवं यातायात व्यवसायी सुमन श्रेष्ठले बताउनुभयो ।

सो डाँडोबाट चारैतिरको डाँडाकाँडा, हरियाली तथा मनोरम हिमशृङ्खला लगायतको लोभ लाग्दो दृश्य देखिन्छ । पर्यटकीय एवं रमणीयस्थल भए पनि प्रचारप्रसार र भौतिक पूर्वाधारको अभाव, सहयोगी दाता नहुँनु र सरकारी निकायको बेवास्ताले गुफाको डाँडो ओझेलमा परेको जगन्नाथ मन्दिर निर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले बताउनुभयो ।

उहाँका अनुसार गुफाको डिलमा भ्यू–टावर निर्माणका लागि चालु वर्षमा वडा कार्यालयबाट रु एक लाख बजेट विनियोजन भएको छ ।

धार्मिक महत्वको जगन्नाथ मन्दिर र पर्यटकीय सम्भावनायुक्त गुफाको डाँडोमा विकास गर्नसकेमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने जनकल्याण मावि पुलाचौरका शिक्षक चिरञ्जीवी सुवेदी बताउनुहुन्छ ।

प्रसिद्ध गलेश्वर मन्दिर, पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने पदमार्ग निर्माण गर्नसकेमा पनि धार्मिक पर्यटक बढ्नुका साथै स्थानीयको दैनिकीमा समेत परिवर्तन आउने प्रशस्तै सम्भावना रहेका छन् । ओझेलमा परेको जगन्नाथ र गुफाको डाँडोलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनाउनुपर्ने स्थानीयको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button