‘पर्यटन क्षेत्रको विकासका लागि चालक अनुशासन आवश्यक’

पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज काठमाडौंमा आयोजना गरेको ‘पर्यटक सवारी चालकसँगको अभिमुखीकरण’ कार्यक्रममा सहभागी वक्ताले पर्यटकसँग पहिलो सम्पर्कमा रहने व्यक्ति चालक भएकाले चालक अनुशासित हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पर्यटन क्षेत्र उद्योगका रुपमा विकास हुँदै गएकाले पर्यटक बोक्ने सवारी चालकको बोली र व्यवहारमा परिवर्तन आवश्यक भएको बताउनुभयो ।

“पर्यटकलाई सुरक्षित यात्रा गराउँदै गर्दा जे मन लाग्यो त्यो बोल्दा पर्यटकले राम्रो नमान्ने हुँदा बोलीमा मिठास हुनु जरुरी छ”, उहाँले भन्नुभयो । प्रमुख खनालले अरु बसको तुलनामा पर्यटक बसको दुर्घटना कमी भएको देखिएकाले अन्य बस चालकले पाठ सिक्नु जरुरी रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब आर्थिक विकास गर्नुपर्ने र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनु जरुरी रहेको बताउनुभयो । “ट्याक्सी सफा, चालक सफा र लाग्ने शुल्कमात्र लिएमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारको विकास आवश्यक रहेको बताउनुभयो । “पर्यटक बोक्ने चालकमात्र नभई सबै क्षेत्रका चालकमा अनुशासनको खाँचो छ”, उहाँले भन्नुभयो ।

विसं २०३५ मा स्थापना भएको पर्यटक प्रहरी एकाइले पर्यटकको नेपाल बसाइँलाई भयरहित र सुरक्षित बनाउनका लागि देशभरका २५ स्थानबाट सुरक्षा प्रदान गर्दै आइरहेको एकाइका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो ।

कार्यक्रमममा पर्यटकका हराएका सामान फेला पारी सम्बन्धित व्यक्तिलाई प्रदान गर्ने प्रहरी तथा चालकलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button