Pokhara News

आधुनिक पुस्तासंगै नयाँ सोँचको विकास

लेखक − उज्वल खनाल

विश्वव्यापीकरणले आजको युग हिजोको भन्दा धेरै हिसाबले फरक छ । आधुनिकताको नाममा आधुनिक पुस्ता सवथोक विर्सिएर विकसित देश अनि विकसित देशका पैसामा सोंचलाई परिवर्तन गराएको भेटिन्छ । हिंजोको सोंच आज, आजभन्दा भोली, भोलीभन्दा पर्सि पुराना हुँदै गएका छन् । शैलीहरु र विचारहरु पनि समयसापेक्ष छैनन् । चिन्तन र साेंच प्रक्रियामा फरकपन आएको छ । पढ्ने, लेख्ने र बोल्ने तौरतरिकामा आमूल परिबर्तन आएको छ । विश्व इतिहासको कालखण्डमा पछिल्लो दुई दशकले दुईहजार बर्षदेखि चलिआएका बिश्वास र मान्यतामा निकै ठूलो हलचल देखाएको छ । ब्यक्तिका मागहरु आधुनिक जीवनशैलीसंगै विस्तार भएका छन् । अपेक्षाका धरोहरहरु चुलिएका छन् । अधिकारवादी चिन्तनले कर्तव्यप्रतिको मूल्यलाई दोश्रो श्रेणीमा फालिदिएको छ । सामुहिकताबाट ब्यक्तिबादीतातर्फको यात्रा गति तीब्र रुपमा चलेको देखिन्छ । केही आशा लाग्दा र रहर लाग्दा आयामहरु थपिएका छन् ।

प्रविधीले निकै ठूलो फड्को मारिसकेको छ । ब्यावसायिकताको संस्कार क्रमशः वयस्कउन्मुख छ । मानिसले सुख, संबृदि, शान्ति र सभ्यता एकैचोटी खोजेको छ । कुनैपनि विकसित देशको बिकासको गतिलाई नियाल्ने हो भने विज्ञान र प्रविधी एउटा महत्वपूर्ण पाटोको रुपमा आउँछ । विकसित राष्ट्रमा राज्यले अध्ययन अनुसन्धानका लागि ठूलो लगानी गरेका हुन्छन् । हामी कुन अवस्थामा छौ ? यो तुलनाको विषय होइन । तर, प्रस्ट छ हामी यो क्षेत्रमा धेरै पछि छौं, शताव्दियौ। यसको अर्थ यो पनि होइन हामी कमजोर छौं । नेपालीसंग सामर्थ्य  छ । तर, मुलुकमा अवसर शून्य छ । लगानीका मार्गहरु शून्य छन् । हामीले इतिहासमा रचेका संरचनाहरु, जुन प्राविधिक रुपमा अत्यन्तै बैज्ञानिक छन् । त्यसकै प्रतिलिपि समेत वनाउन सकेका छैनौं । त्यसभित्र रहेका गहन रहस्यहरु समेत बुझ्न सकेका छैनौं । हामीले आधुनिकताका नाममा हाम्रा शैलीहरु विर्सदै गएका छौं । यो नेपालीहरुकोे कमजोरी हो वा राज्यकै कमजोरी हो ? प्रश्न जटिल छ । तर मुलुक हाँक्नेहरुमा यस्ता कुराहरुको चेतना भइदियो भने केही हदसम्म हामी र हाम्रा पिँढीले केही अवसरहरु पाउने थिएकी !

अन्तराष्ट्रिय क्षेत्रमा चर्चा कमाइरहेका र अव्वल बन्दै गइरहेका नेपाली प्रतिभाहरुको उदाहरण प्रशस्तै छन् । ती प्रतिभाहरु मुलुकमा किन रहन सकेनन् ? उनीहरुको क्षमतालाई मुलुकले किन उपयोग गर्न सकेन ? यी प्रश्न गम्भीर सोंचको विषय वन्दै गएको छ । अझ कटाक्ष गर्दै भनिन्छ, उनीहरु नेपालबाटै पलायन भएका हुन् । के उनीहरुमा देशप्रति माया र जिम्वेवारी नै छैन त ? के उनीहरु राष्ट्रप्रति उत्तरदायी नभएकै हुन् त ? वर्षेनी लाखौं युवाहरुले देश छाड्छन् । कोही श्रम गर्न खाडी मुलुकतिर त कोही उच्चशिक्षाका लागि युरोप वा अमेरिकासम्म । उनीहरुको उद्देश्य हुन्छ, आर्थिक संवृद्धि र उच्चज्ञान हासिल गर्ने । यो लेखकलाई यस्तो लाग्छ, देशको कमजोर आर्थिक अवस्था, अवसरको अभावमा उनीहरु विदेशिएका हुन् । तर, विदेशिनु रहर होइन, वाध्यता हो । तीतो यथार्थ यो पनि होकी खाडी मुलुकको परिश्रमले धेरै हदसम्म हाम्रो मुलुकको अर्थतन्त्र धानिएको पनि छ । यो पनि सत्य हो कि असंख्य दक्ष जनशक्ति मुलुक वाहिर नै रहेका छन् । मुलुकमा एकथरी यस्ता मानिसको जमात पनि छ कि जो दक्ष जनशक्तिको प्रवेश नै रुचाउँदैनन् । किनभने आफ्नो भाग खोसिने डर छ उनीहरुमा ।

हामीकहाँ यस्तो परम्पराले डेरा जमाइसक्यो कि जो चलाख छ, उसले कलेजको प्रारम्भिक चरण पूरा नगर्दै मुलुक छाड्छ । यस्तो जनशक्ति मुलुकको आशालाग्दो भविष्य पनि हो । दोस्रो जनशक्ति मुलुकमै उच्चशिक्षा लिन्छ । तर, अस्थिर राजनीति, अवसरको अभाव र विग्रदो वातावरणले निराश भएर मुलुक छाड्न वाध्य हुन्छ । अन्ततः निष्कृय जनशक्ति र केही देशप्रेमी र देशमै अवसर पाएकाहरु कम मेहनतमा विश्वास गरी अवसरको तालाचावी आफैसंग राखेको हुन्छ, उही नै सकृय विज्ञ वन्छ । मुलुकको नेतृत्वकर्ता पनि ऊ आफैं नै बन्छ । अर्को एक जमात जो आर्थिक रुपमा मजवुत् छ । मुलुकको विकासमा सहभागी हुन चाहन्छ । तर, उसको लगानीमा ¥याल काढ्नेहरु फितलो सरकारी नीति, ढिलाशुस्तीले लगानीमा असुरक्षा हुने देखेपछि उनीहरुमा पनि निष्कृयता देखिएको छ । निराश भएर उनीहरु मौन रहन्छन् । कि त पलायन नै हुन पुग्छन् ।

आर्थिक संम्प्रभुता समाजको प्रतिष्ठित नागरिकको हैसियत बनिसकेको छ । रुपैयाँ जोसंग छ, उ नै समाजको सभ्य र प्रतिष्ठित नागरिक वन्ने भयो । यसैले पहिले ज्ञान र दक्षता हासिल गर्नतर्फ उत्प्रेरणा गर्नुको सट्टा युवावर्गलाई पैसामुखी वनाउन हाम्रै परिवार र समाजले भुमिका खेलेको छ । विद्यालय होस वा विश्वविद्यालय नै किन नहोस् गुरु र चेलावीच हुने व्यवहारिक नाता पनि कमजोर नै देखिन्छ । त्यसमा पनि यि दुईवीच आदर र मान, सम्मानको सम्वन्ध निमिट्यान्नप्रायः भएको छ । न गुरुहरुप्रति सद्भाव छ । न त कुनै व्यवसायिक नैतिकता मजवुत् छ । न त पेशाप्रति ईमान्दारिता नै छ । त्यसैले यहाँ अध्ययन र अनुसन्धानको माहोल नाजुक वन्दै गईरहेको छ । प्रयोगात्मक ज्ञान त परै जाओस, शैद्धान्तिक ज्ञानपनि पुरातन छ । त्यो पनि व्यवस्थित रुपमा निश्चित समयमा पूरा हुदैन । यसको कारक तत्व भनेको आर्थिक अभाव, कुशल नेतृत्वको अभाव, राजनीतिको खराव प्रयोग, अनुशासनहिनता, विकृत वातावरण, पेशाप्रतिको वेइमानी आदि नै मुल चुरो हुन् ।

प्राकृतिक विपत्तिले देश तहस नहस वनाएको अवस्था छ । दुईवर्ष वितिसक्दा पनि सरकार पुनर्निर्माण र जनतालाई राहत दिन कञ्जुस्याँई गरिरहेको छ । विपत्तिपीडित नेपाली जनताहरुले अझै ब्यवस्थित वसाँई पाएका छैनन् । यो जटिल परिस्थितिमा हातेमालो गरेर मुलुकको पुनः निर्माणमा जुट्नुपर्ने वेलामा राजनीतिक खिचातानीमा देश फसेको देख्दा नेपाली राजनीतिको विश्व समुदायमा कस्तो सन्देश गइरहेको होला ? मुलुक हाँक्नेहरुप्रति यो लेखकको प्रश्न । नेपाल एक भुपरिबेष्ठित राष्ट्र हो । जल, स्थल र हिमालय क्षेत्रमा प्रकोपको निरन्तर प्रकृया चलिनै रहेको छ । चलिनै रहन्छ पनि । जे पर्ला, त्यहि टर्ला भनेर वस्ने वेलापनि होइन । यसको वैज्ञानिक रुपमा पूर्वतयारी आवस्यक छ । तयारीविनाको फल हामीले भोगिरहेका छौं । अव, कहिलेसम्म अकालमा जीवनको मृत्यु पर्खाइमा बसिरहने ?

अन्ततः मुलुकमा भएका अवसर र लगानीलाई प्राथमिकतामा राखेर मुलुकवाहिर रहेका दक्ष जनशक्तिलाई भित्राउने प्रयत्न गरी उनीहरुको दक्षता र क्षमता अनुसार राष्ट्रमै रहन सक्ने वातावरण मिलाउन सके मुलुक नयाँ गतिमा अगाडी वढ्न सक्छ । यसमा मुलुक हाँक्ने नेतृत्वकर्ताहरुले गम्भीर भएर सोंच्ने वेला आएको छ ।

लेखक −उज्वल खनाल

अन्य खबर

भोलिको पत्रिकामा विज्ञापन छापिदिनुस् न

विहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

समय तथा संस्कृति सापेक्ष शिक्षण : आवश्यकता र आयामहरू

खुल्दैछ.......