नवलपरासीमा उखु उत्पादनमा कमी

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ ।

उखु खेती छाडेर केरा तथा तरकारी खेतीसहित अन्य खेतीतर्फ किसान आकर्षित भएपछि उत्पादनमा कमी आएको हो ।

पाँच वर्ष अघिसम्म वार्षिक रुपमा ३० लाख क्वीन्टल उखु उत्पादन हुने पश्चिम नवलपरासीमा क्रमशः उत्पादनमा कमी हुँदै आएको हो । गत वर्ष करिब २० लाख क्वीन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यो वर्ष १५ लाख क्वीन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक समितिले जनाएको छ ।

नवलपरासी पश्चिममा चार वटा चिनी उद्योग छन् । तीमध्ये मोहिनी सुगर मिलबाहेक अन्य सबै सञ्चालनमा छन् । सञ्चालनमा रहेका लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग र इन्दिरा चिनी मिलका लागि आवश्यक पर्ने उखु यो अत्यन्त कम हो ।

समयमै उखुको उचित मूल्य निर्धारण नहुनु र चिनी उद्योगलाई सस्तो मूल्यमा उधारो उखु दिन बाध्य भएपछि किसान उखु खेती छाडी अन्य पेशातर्फ आकर्षित बन्न बाध्य भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

किसानले उखु खेतीमा गरेको लगानीअनुसार आम्दानी हुन नसकेको भन्दै पछिल्लो समयमा किसान तरकारी खेतीलगायत अन्य पेशातर्फ आकर्षित हुन थालेका छन् । उखुको मौसम कात्तिकबाट शुरु भई चैत महिनामा सकिने गरिन्छ ।

जिल्लाको कुल उखु खेती योग्य क्षेत्रफलमध्ये सात हजार १४९ हेक्टर क्षेत्रफलमा उखु खेती गरिँदै आएको छ । तीमध्ये ६८ प्रतिशत समतलमा तथा ३२ प्रतिशत पाखो खेतमा उखु उत्पादन गरिँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button