नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

नारायणगढ–मुग्लिन सडकखण्ड हिजो शनिबारदेखि चार दिन बन्द नहुने भएको छ ।

रातिको समयमा ६ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड शनिबारदेखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

थारुको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो । प्रहरीले शनिबार सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो ।

यसअघि यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार शनिबारदेखि माघ २ गतेसम्म सडक खुला रहने छ ।

शनिबारदेखि यहाँ सडकमा करिब ३० प्रतिशत सवारी चाप बढेको उनले जानकारी दिए । जसका कारण शनिबार दिनभर नै यातायात प्रभावित भएको थियो । जोखिम कम भए पनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ । गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माण कार्यले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button