Main News

पोखरा लेखनाथस्थित ढोडबेसी फाँटका किसानलाई खुदो पेल्दैमा फुर्सद छैन

  • 449
    Shares

हरि बाँस्तोला । 

पहाडी क्षेत्रमा खेतबारीको फसल भित्राएर फुर्सिदलो हुने समय भएपनि यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो परेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ ढोडबेसी फाँटका कृषकलाई यस याममा उँखु काट्ने, पेल्ने, रसेटोमा खुदो पकाउने र बिक्री गर्ने काममा भ्याईनभ्याई छ ।

सिंचाइको अभावका कारण मकै, भटमास, तोरी, मसुरोलगायतका विभिन्न अन्न तथा दलहन र तेलहन बाली लगाउँदा एक रोपनी जग्गाबाट बढीमा छ हजारमात्र आम्दानी हुने तर उँखुबाट रु ५० हजार मूल्य बराबरको खुदो उत्पादन हुने स्थानीय कृषक विष्णुमाया भुजेल बताउँछन् । त्यसकारण उखु खेतीमा जोड दिएको भुजेलको भनाई छ ।

पानी कम परेका कारण गत वर्षको तुलनामा यस वर्ष कम उत्पादन हुने दुखेसो सुनाउँदै उनले भनिन, ‘पाँच रोपनी जग्गामा लगाएको उँखुबाट लगभग ६० टिन खुदो उत्पादन हुने र बिक्रीबाट रु एक लाख ८० हजार आम्दानी हुने अनुमान गरेकी छु ।’

उँखुलाई वर्षमा तीनपटक गोडमेल गर्नुपर्ने र गोड्दा उँखुको पातले पाछ्ने भएकाले शारिरीक परिश्रम बढी हुने गर्छ । युवा वर्गलाई त्यसतर्फ आकर्षण गर्न नसक्दा व्यवसाय लोप हुने अवस्थामा पुगेको रोजगारको सिलसिलामा एक दशक मलेसियामा सुरक्षागार्ड बसेर नेपाल फर्किएका स्थानीयवासी लक्ष्मण ओझा बताउँछन् ।

नेपाली सेनाबाट अवकाश प्राप्त ओझा दुई रोपनी जग्गामा लगाइएको उँखु खेतीबाट यस वर्ष रु ८० हजारभन्दा बढी आम्दानी हुनेमा आशावादी छन् ।

खेती गर्दा वा काट्दा ज्याला नभई आलोपालो (पर्म) का आधारमा गर्ने गरिन्छ । उँखुबाट उत्पादिन खुदो बिक्रीबाट रामो आम्दानी हुनाका साथै पशुका लागि घाँससमेत पोषिलो हुने अर्का कृषक रेखा धमलाको धारणा छ ।

प्राचीनकालदेखि खुदो गाउँका रुपमा परिचित ढोडबेसी फाँटको लगभग १ सय रोपनी क्षेत्रफलमा व्यावसायिक उँखु खेती गरिदै आइएको छ ।
खुदो बिक्रीबाट सिंगो गाउँमा यस वर्ष रु ३० लाखभन्दा बढी आम्दानी हुने स्थानीयवासी अगुवा कृषक लालबहादुर भुजेलले बताए ।

उनका अनुसार बारीमा लगाएपछि दुई वर्षसम्म उत्पादन लिन सकिने उँखुलाई खासै मेहनत गर्नु नपर्ने, रोग किराले पनि दुःख नदिने र खरिदका लागि व्यापारी घरमै आउने हुँदा उत्पादित खुदो बिक्री हुँदैन कि चिन्ता छैन । त्यसकारण उँखु खेतीले यस क्षेत्रमा परम्परादेखि नै निरन्तरता पाउँदै आएको हो ।

मौसम राम्रो भएको वर्षमा एक रोपनी जग्गामा रु ५० हजार मूल्य बराबरको १५ देखि १८ टिनसम्म खुदो उत्पादन हुने गरेको बताउँदै उनले भने, ‘तीस माना जाने प्रतिटिन तीन हजार तथा एक माना खुदोको रु १ सय बिक्री मूल्य कायम गरिएको छ ।’

पहिला कमलो जातको उँखु लगाउँदा भालु, स्याल, बाँदर, कुकुरलगायतका जनावरले खाएर नष्ट गर्ने गरेको र त्यसपछि कडा जातको लगाउँदा उँखुको लाँक्रोभित्र रातो देखिएका कारण पुराना दुवै बीउलाई विस्थापित गरी १० वर्षअघिदेखि बाँसकडा जातको उखुको बीउ लगाउन थालिएको हो । यो जातको उँखुले राम्रो उत्पादन दिने गरेको भुजेल बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयको सिफारिशमा २०७१ सालमा वीरगञ्जबाट ल्याइएको बोल्क ९४१८०, सिओ ०२३३, सिओ ९८२३१, जिओ १४१ तथा २०७३ सालमा ल्याइएको सिओ ०२३८, सिओएक्स १५२, बिओ १५०, सिओएक्स ९६२६८, सिओभी ८५ (गेमरा) हाइब्रिड जातका उँखुको बीउ लगाउँदा उत्पादन बढ्नुको सट्टा बारीमै सुकेर ठूलो नोक्सान व्यहोर्नु परेको अनुभव ती कृषकले सुनाए ।

परम्परागतरुपमा गोरुको सहायताले कोलमा उखु पेल्दा तीन घण्टामा एक टिन रस उत्पादन हुने गरेको बताउँदै उनले भने – ‘ढोडबेँसी फाँटको तल्लो स्यालदुलो र माथिल्लो भेग पन्थेकुनोमा छुट्टाछुट्टै दुईवटा विद्युतीय आधुनिक मेसिन जडान गरेर सञ्चालनमा ल्याइएपछि घण्टामा पाँच टिन रस उत्पादन हुने गरेको छ ।’

भारतमा निर्मित दुवै मेसिन कूल रु तीन लाखमा खरिद गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले अस्थायी मिटर र थ्री फेज लाइन जडान गरिदिएपछि सुविधा पुगेको र मिटरमा उठेको रकम मेसिन प्रयोग गरेको आधारमा दामासाहीले तिर्ने व्यवस्था मिलाइएको छ ।

प्राङ्गरिक रुपमा उत्पादित उँखुबाट बनेको तातो खुदो पिउँदा शरीरमा गढेको चिसो बाहिर निस्कने र लगातार लाग्ने रुघाखोकीसमेत सन्चो हुने हुँदा मुलुकका विभिन्न स्थानबाट तातो खुदो पिउन मात्र पनि पारखीहरू रसेटोमै आउने गरेको कृषक बताउँछन् ।

विगतमा प्रत्येक घरमा हुने विवाह, व्रतबन्धलगायत शुभकार्य, पुसेपन्ध्र र माघेसङ्क्रान्तिजस्ता चापर्वमा बढी प्रयोग हुने खुदोको महत्वबारे जानकारी दिन नसक्दा व्यावसायिक उँखु खेतीतर्फ कृषकको आकर्षण बढ्न नसकेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी बताउँछन् ।

खुदोबाट अन्य विभिन्न परिकार बनाएर बजारमा ल्याउन कृषकलाई प्रेरित गर्ने सोचमा संघ रहेको छ । सर्वसाधारण जनतामा खुदो खाने बानी पार्न सकिए उँखु व्यवसाय फस्टाउने उनी बताउँछन् ।

पर्यटकीय नगरी पोखरामा हुने मेला र महोत्सवमा ग्रामीण क्षेत्रका कृषि उत्पादनले महत्व पाउने हो यसबाट बजारको सहज उपलब्धताका साथै कृषकको आर्थिक स्तर उकास्न पनि टेवा पुग्ने निर्विवाद छ ।

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top