पर्यटनका लागि घरवास र पदयात्रा

पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ ।

नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत गरी घरवास पर्यटनको अवधारणालाई अघि सारिएको हो ।

पर्यटकलाई सुविधा सम्पन्न रिसोर्ट तथा होटल नभएर गाउँकै भान्सामा खाना तथा आवासजन्य सुविधा प्रदान गर्ने सोचका साथ घरवास पर्यटनको अवधारणा शुरु भएको हो । अन्तर्राष्ट्रियरुपमा नेपाल पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य रहेको अवस्थालाई दृष्टिगत गरी ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ ले घरवास र पदयात्रा पर्यटनलाई सँगसँगै जोड्ने अभियानको थालनी गरेको मञ्चका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।

“यहाँका पर्यटकीय गाउँ पुग्ने पर्यटकको इच्छा पदयात्रासँग पनि जोडिएको हुन्छ”, उनले भने, “घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटोलाई पदमार्गका रुपमा व्यवस्थित गरे त्यसबाट घरवास र पदयात्रा पर्यटन दुवैको विकास सम्भव हुन्छ ।”

मञ्चको अगुवाइमा कास्कीका घरवास सञ्चालन भएका पर्यटकीय गाउँ ताङ्तिङबाट कर्पुडाँडा र कर्पुडाँडाबाट याङ्जाकोटलाई पदयात्रासँग जोड्न लागिएको छ । पदमार्गसहित ‘ताङतिङ–कर्पुडाँडा–याङ्जाकोट’ जोड्ने अभियान कास्कीकै पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उनले बताए ।

पदयात्रा र घरवासलाई सँगसँगै जोड्ने सोचका साथ अभियान सञ्चालन गरिनु समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण कार्य भएको नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका सहसचिव धर्मराज पन्थीले बताए।

“नेपालमा पदयात्राकै लागि धेरै बाह्य पर्यटक आउने गरेका छन्”, उनले भने, “पदयात्रा मार्गमा पर्ने गाउँमा घरवास कार्यक्रमलाई विकास गर्न सके यसले घरवास पर्यटन र पदयात्रा पर्यटन दुवैलाई टेवा पुग्छ ।”

जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिने क्रम पदयात्रा पर्यटनको चुनौती बनेको उनको भनाइ छ । एउटा घरवासबाट अर्कोसम्म पुग्नका लागि छोटा पदमार्गको विकास गर्न सकेमात्र पनि त्यसले पदयात्रा पर्यटनमा राहत पुग्ने उनले बताए।

नेपालमा घरवास पर्यटनको शुरुवात् २०५४ सालमा सिरुबारीबाट भएको मानिन्छ । सिरुबारीका समाजसेवी स्व क्याप्टेन रुद्रमान गुरुङको पहलमा पहिलोपटक घरवास कार्यक्रम शुरु गरिएको सो गाउँमा हाल १७ वटा घरमा उक्त सेवा सञ्चालनमा छ ।

घरवास पर्यटनको शुरुवात् स्थानीयस्तरबाट गरिएसँगै सरकारले पहिलोपटक पर्यटन ऐन, २०६५ मा घरवासलाई औपचारिक सम्बोधन गरयो भने २०६७ मा कार्यविधि ल्याइयो । नेपालको पर्यटकीय विकासमा घरवास पर्यटनले महत्वपूर्ण योगदान गर्ने स्पष्ट संकेत दिए पनि यो क्षेत्र अझै ओझेलमा परिरहेको मञ्चका पूर्व अध्यक्ष तारानाथ पहारी बताउछन् ।

पदयात्रा पर्यटनसँगै घरवासलाई जोड्ने र यसको प्रचारप्रसार गर्न सके स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण नेपालमा रमणीय गाउँमा पर्ने उनको भनाइ छ । नेपालमा सबैभन्दा बढी घरवास कार्यक्रम गण्डकी तथा धवलागिरिमा सञ्चालनमा छ । तथ्याङ्कअनुसार गण्डकी र धवलागिरिमा मात्र घरवास सञ्चालन भएका गाउँको संख्या ६५ पुगेको छ भने कास्कीमा ३७ वटा घरवास दर्ता भई सञ्चालनमा आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button