गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताए ।

यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा आकर्षण सँगै त्यसको बिक्री पनि बढेपछि विगत वर्षका मेलाको तुलनामा यस पटकको मेलाबाट व्यवसायी पनि थप उत्साही बनेका छन् । मेलामा पूर्वी रुकुमदेखि व्यापारी काम्ला र राडी, पाखी, ओखरका घाँजी र बास र काठबाट निर्मित सामग्री बिक्री गर्न रिडी मेला आउने गर्दछन् । विगतका वर्षमा खासै व्यापार नहुने हुँदा निराश बनेका व्यापारी यो पटक सञ्चालन भएको माघी मेलाबाट उनीहरुमा खुशी थपिएको हो । रिडी मेलामा व्यापार गर्नका लागि भनेर बर्षेनी रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लाबाट पाँचदेखि सात दिनसम्मको पैदल यात्रा गरी उनीहरु गुल्मीको रिडी आइपुग्ने गर्दछन् ।

मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी रुकुमका दुर्गम गाउँमा भेडाको ऊनबाट तयार पारिएका राडी, पाखी, स्वेटर, टोपी र काँचो ऊन पनि बिक्री वितरण हुने गर्दछ । खाने सामग्रीमा ओखरको घाँजी, बदाम, गुँड र कन्दमूलले पनि मेलामा राम्रो बजार पाएको थियो । मेलामा बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँचीमा बाँसबाट बुनेर तयार पारिएका सुपा, डाला, थुन्से, भकारी, कपाल कोर्ने बाँसको काँइयोलगायत सामग्रीको व्यापार राम्रो भएको व्यवसायी बताउँछन् ।

पछिल्ला वर्षमा स्थानीय युवा क्लबले तीनदिने मेलालाई बढाएर पाँचदिने बनाएका छन् । यो पटक सञ्चालन भएको मेलाको कारोबार हेर्दा व्यापारीलाई उत्साहित बनाउनाका अतिरिक्त आयोजकलाई समेत थप उत्साहित बनाएको क्लबका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button