पोखराको हरिहर क्षेत्रमा योगा पर्यटनको खोजी

टानद्वारा एक दिने पदयात्रा सम्पन्न

योगा पर्यटन र धार्मिक पर्यटनलाई समेत प्रवद्र्धन गर्ने गरी कास्कीको भलाम स्थित हरिहर गुफालाई समेटेर ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले शनिबार एक दिने पदयात्रा (डे हाइक) सम्पन्न गरेको छ ।

संसारकै होचो स्थानमा रहेको हिमताल भनी प्रचारित कास्कीको कफुचे ताललाई लक्षित गरी एक हप्ता लामो पदयात्रा मार्गको खोज तथा अनुसन्धान सम्पन्न गरेको केही दिन पछि टानले छोटो समयको पदयात्रा चाहने पर्यटकका लागि डे हाइकका लागि अर्को नयाँ मार्ग विकास गर्न खोजेको हो ।

कास्कीको दीपबाट भलामको हरिहर गुफा हुँदै अर्मलाकोट उक्लिएर टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा अन्तर्गतका ४० व्यवसायी आँटीघर मौजा हुँदै पोखरा झरेका थिए । समय कम भएका पर्यटकका लागि पोखरा वरपरका डाँडाकाँडा घुमाउने उद्धेश्यले यो मार्ग विकास गर्न लागिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक राज अधिकारीले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका– २० भलाममा रहेको हरिहर गुफामा विक्रम सम्बत् १९०६ मा श्री ३ जंगबहादुर राणाको पालामा हरिहर भगवानको पूजा गर्ने थालनी भएपछि गुफा अस्तित्वमा आएको गुफा व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष विष्णु खत्रीले जानकारी दिए । हरिहर गुफा पोखराबाट एक घण्टाको पैदल दुरीमा रहे पनि ओझेलमा परेको उनले सुनाए ।

गुफा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना आफूहरुले पाएको टानका पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष अधिकारीले बताए । गुफा क्षेत्र वरपर शान्त वातावरण भएका कारण योगा पर्यटनको पनि उत्तिकै संभावना रहेको भनाई अधिकारीको छ । पछिल्ला दिनमा योगा पर्यटनले समेत बढी महत्व पाउन थालेको भन्दै अधिकारीले हरिहर क्षेत्रमा पनि त्यसप्रकारको पर्यटन विकास गर्न आफूहरुले थप अध्ययन गर्ने भनाई राखे ।

डे हाइकका क्रममा गुफा पुगेको टान टोलीले त्यहाँ स्थित सन्यास आश्रमका एकदर्जन वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको थियो । आफ्नो व्यवसायका अतिरिक्त समाजिक उत्तरदायित्वलाई समेत ख्याल गर्दै वृद्धवृद्धलाई कपडा वितरण गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका सचिव सुशीलराज पौडेलले जानकारी दिए । हरिहर गुफामा संक्षिप्त कार्यक्रम सम्पन्न गरी टानको टोली अर्मला पुगेको थियो । टोलीमा अमेरिकी तथा कोरियाली नागरिक समेत सहभागी भएका थिए । डे हाइकको रुपमा विकास गर्न लागिएको यो मार्ग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र नपर्ने भएका कारण पर्यटकले अतिरक्त दुई हजार रुपैयाँ प्रवेश शुल्क तिर्नु पर्दैन ।

अर्मलामा आयोजित कार्यक्रममा स्थानीय वासिन्दा कर्णबहादुर गुरुङले कफुचे जाने पर्यटक हुन् वा एक दिने पदयात्रामा आउने पर्यटक सबैलाई स्वागत गर्न आफ्नो गाउँ सधैं तयार रहेको बताए । अर्का समाजसेवी तेज गुरुङले अर्मला क्षेत्रले प्रचूर पर्यटकीय संभावना बोकेको बताए । सो अवसरमा महानगरको वडा नम्बर १६ का वडाअध्यक्ष जीवन आचार्यले पर्यटन र कृषिलाई सँगै अगाडि बढाउन सके कुनै पनि गाउँले छिटो प्रगति गर्ने बताए । टानका अध्यक्ष अधिकारीले घरबास, सरसफाई र पकाउने तथा खुवाउने सम्बन्धि तालिम गाउँलेका लागि टानले निकट भविश्यमा संचालन गर्ने बचन दिए ।

हरियाली जंगल, काली खोला, झोलुंगे पुल, विविध चराचुरुंगीको अवलोकन, अन्नपूर्ण हिमश्रृंखलाको नजिकबाट अवलोकन, झरनाहरु, परम्परागत गुरुङ वस्ती, उनीहरुको संस्कृति र टारीहरु यो पदयात्रा मार्गका विशेषताहरु हुन् । महानगरको वडा १६, २० र नेपाल पर्यटन वोर्डले कार्यक्रमलाई सघाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button