पोखराको अर्मलाकोट बास्केटबल कोर्टलाई समुदायमा हस्तान्तरण

पोखरा, ०९ माघ –

पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मलकोटमा नवनिर्मित बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको छ। प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष टेण्डी लामा शेर्पाको प्रमुख आतिथ्यतामा बास्केटबल कोर्टको उद्घाटन भएपछि उक्त बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको हो।

बास्केटबल कोर्टलाई उपाध्यक्ष शेर्पा र डव्लु ओ वान जितबहादुर गुरुङकी वयोवृद्ध ८९ वर्षिय आमा मुङ्गा गुरुङले बास्केटबल कोर्टको शंयुक्त रुपमा उद्घाटन गरेका थिए। उक्त कोर्ट निर्माणको प्रमुख लगानीकर्ता जितबहादुर गुरुङ र अर्मला युके भाइखलकका शेरा गुरुङले शंयुक्त रुपमा विद्यालय, क्लव र आमा समूहलाई हस्तान्तरण गरेका थिए।

समुन्द्री सतहभन्दा करिव १ हजार ५ सय उचाईमा अवस्थित अर्मलाकोट पोखराकै सुन्दर एवम् मनमोहक गुरुङ समुदायको बस्ती हो। अर्मलाकोर्टमा निर्मित उक्त बास्केटबल कोर्ट पोखरा लेखनाथ महानगरपालिकाको उच्चस्थानमा निर्माण गर्न अर्मला निवासी ब्रिटिश सेनाका सेवानिवृत्त डव्लु ओ वान जितबहादुर गुरुङको ठूलो योगदान रहेको छ।

२०७१ सालमा करिब ४ रोपनी जग्गामा फैलिएको उक्त बास्केटबल कोर्ट निर्माण गर्न जित बहादुरले ४ लाखमा जग्गा किनेर शुरु गरेका थिए। परापूर्व कालदेखि श्रीपञ्चमी मेलासमेत लाग्ने गरेको उक्त गाउँमा मनोरञ्जन गर्ने स्थानसमेत नहुँदा जितबहादुरले गाँउका समाजसेवीहरुसंग मिलेर यो कार्यको सुरु गरेको बास्केटबल संघका उपाध्यक्ष एवम् अर्मला निवासी जुमप्रसाद गुरुङले बताए। जुम गुरुङका परिवारले पनि उक्त स्थानमा रहेको १९ आना जग्गा खेल मैदानका लागि दान गरेका हुन्।

मैदान निर्माण गर्न अर्मला निवासी हाल युकेमा कार्यरतहरुले अर्मला भाइखलक संस्थाका माध्यमद्धारा करिव ३६ लाख रुपैयाँ पठाएको जुम गुरुङले बताए। जितबहादुरले मात्रै करिब १७ लाख रुपैयाँ मैदान र प्यारापिट निर्माणका लागि खर्च गरेका छन्। उनले आफ्नो बुवा टंकप्रसाद गुरुङको स्मृतिमा करिव ५ लाख ५० हजार खर्चेर प्यारापिटसमेत निर्माण गरिदिएका छन्।

गाउँका काजीखलक चेलीबेटी समाजसमेतले एक लाख प्रदान गरेका छन्। ‘उक्त जग्गा हामीले नजिकैको सिता आधारभूत विद्यालयको नाममा दिएका छौं,’ निर्माण समितिका अध्यक्षसमेत रहेका गुरुङले भने। जग्गासहित ५३ लाख ५० हजार संपूर्ण खर्च भएको गुरुङले बताए।

उक्त मैदानको हस्तान्तरण कार्यक्रममा पुगेका उपाध्यक्ष शेर्पाले अर्मलाका समुदायले विदेशमा बसेर भएपनि गाउँ सम्झेर खेलकुद बिकासमा गरेको लगानी महत्वपूर्ण रहेको बताए। उनले पोखराकै मनमोहक र रमणीयस्थानमा निर्माण गरिएको बास्केटबल कोर्टलाई थप विस्तारका लागि राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिवद्धता जनाए। कार्यक्रममा कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य लगायतले बोलेका थिए। कार्यक्रम सिता आधारभूत विद्यालयका अध्यक्ष भुपालसिंह गुरुङको अध्यक्षतामा भएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button