पर्वतमा समितिको विवादले करोडौँको खानेपानी योजना अवरुद्ध

उपभोक्ता समिति गठनमा सहमति जुट्न नसकेपछि पर्वतको एक विकट गाउँमा सञ्चालन हुन लागेको करोडौँको खानेपानी योजना अलपत्र भएको छ ।

फलेवास नगरपालिका–३ शंकरपोखरीमा सञ्चालित खानेपानी आयोजनाको काम विवादका कारण शुरु हुन नसकेको हो । समितिको पदाधिकारीका लागि दलीय टकराव भएपछि उपभोक्ता समितिमा विवाद उत्पन्न भएको हो ।

नेपाली काँग्रेस गाउँ कार्यसमितिका सचिव शिवप्रसाद तिवारीको अध्यक्षतामा खानेपानी उपभोक्ता समिति गठन भएको थियो । उक्त समितिमा नेकपा (एमाले)का तर्फबाट भीमप्रसाद भुसाल सचिव, माओवादी केन्द्रका विष्णुबहादुर विक उपाध्यक्ष रहेका थिए । तर एमाले र माओवादी केन्द्रले अध्यक्ष आफुहरुले पाउनुपर्ने दाबी गर्दै उक्त समितिलाई नस्वीकार्ने बताएपछि विवादले चर्को रुप लिएको हो । उनीहरूले आमभेला नै नगरी उपभोक्ता समिति निर्माण गरिएको भन्दै विरोध गरेका हुन् । विरोधीहरूले अर्को आमभेला गरेर समिति गठन गर्न माग गरिरहेका छन् । यता उक्त वडाका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलका प्रतिनिधिसहित दलित, अपाङ्ग र महिलाको सहभागितामा उक्त समितिको निर्माण गरिएको दाबी गरे ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको रु २४ करोडको लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन हुने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त गाविसका ७०० भन्दा बढी घरधुरी र केही सार्वजनिक धारासमेत निर्माण गर्ने गरी योजना शुरु भएको हो ।

“उपभोक्ता समिति आमभेलाबाटै निर्माण भएकाले वैधानिकताको प्रश्न उठाएर विरोध गर्नु विकासको काम रोक्नुबाहेक केही होइन ।” उनले भने, “नगरपालिकाले समेत सोही समितिलाई वैधानिकता दिएको छ ।” नगरपालिकाका प्रमुख पदमपाणि शर्माले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न आग्रह गरे । “बेकारका माग राखेर काम रोक्नुहुन्न भन्नेमा हामी अडिग छौँ ।” नगर प्रमुख शर्माले भने, “सानातिना विवादले काम रोक्नु हुँदैन भनेर हामीले निर्देशन दिएका छौँ ।”

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले विवाद भइरहेकाले काम शुरु गर्न नसक्ने बताउँदै तत्काल विवाद समाधान गरेर काम शुरु गर्न ताकेता गरिरहेको छ । चालू आवमा खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत रु २४ करोडको बृहत् खानेपानी आयोजना सञ्चालन गर्न अख्तियारी प्राप्त भए पनि उपभोक्ता समितिमा विवादले नै आयोजना प्रभावित बनेको हो । नियमअनुसार स्थानीय उपभोक्ता समिति नबनी टेण्डर आह्वान गर्न मिल्दैन । वडाभरिका नागरिकलाई खानेपानी पु¥याउन आयोजना शुरु हुन लाग्दा उपभोक्ता समिति निर्माणमा नै विवाद भएपछि स्थानीयवासी भने निराश बनेका छन् ।

कार्यालयका अनुसार उपभोक्ता समितिबीचको विवादले आयोजनाको निर्माण कार्यमा ढिलाइ हुनेछ । आफ्नो गाउँमा बन्ने योजनामा विवाद नगरी सहमतिमा आउन उपभोक्तालाई आग्रह गरेको छ । कार्यालय प्रमुख प्रेम डोटेलले उपभोक्तालाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए । उनले योजना सञ्चालनका लागि आवश्यक सहयोग गर्न र उपभोक्ता सहमतिमा आए तोकिएकै समयमा खानेपानी योजना सम्पन्न हुने बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button