बेनीमा पहिलोपटक दाँतको जटिल शल्यक्रिया

पोखरा न्युज – १७ माघ ।

म्याग्दीको बेनी अस्पतालमा पहिलो पटक दाँतको जटिल शल्यक्रिया गरिएको छ । घाँस काट्ने क्रममा रूखबाट लडेर दाँत र हड्डी भाँचिएका एक युवाको बेनी अस्पतालमा पहिलोपटक उपचार गरिएको छ ।

दुर्घटनामा दाँत र मुखमा लागेको चोट मध्यकै जटिल मानिने (डेन्टोएल्भियोलर) फ्र्याक्चरलाई अस्पतालमा ४५ मिनेटमा सफल शल्यक्रिया गरिएको हो । दिउँसो रूखमा घाँस काट्ने क्रममा लडेर जमिनमा खसेका रघुगंगा गाउँपालिका–२ भगवतीका युवा पवन केसीको अस्पतालका डेन्टल सर्जन डा विवेक सुनारको नेतृत्वमा (डेन्टोएल्भियोलर) फ्याक्चरलाई जिल्लामै मंगलबार शल्यक्रिया गरिएको दाँत तथा मुख विभागले जनाएको छ ।

रूखबाट लडेर दाँतको अघिल्लो भाग र छातीमा चोट लागेको अवस्थामा आफन्तको सहयोगमा अस्पतालमा पुगेलगत्तै डा सुनारले अस्पताल प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेलाई बिरामीको अवस्थाका बारेमा जानकारी गराई शल्यक्रिया शुरु गरेका थिए । दाँत र मुखमा गम्भीर चोट लागेको अवस्थामा आएका घाइतेको कम्योजिट रेजिन र तारले जोडेर राखिएको छ ।

हड्डीसँगै भाँचिएको दाँतको एक्स–रे, दाँतको नसा मरेको अवस्थामा जरैदेखि उपचार गर्नुपर्ने भएकाले पनि एक महिनासम्म हरेक हप्ता जाँच गरिने डेन्टल सर्जन सुनारले बताए । उनका अनुसार जिल्लाबाहिर यो सेवाका लागि रु ५० हजारदेखि एक लाखसम्म खर्च गर्नुपर्छ ।

अस्पतालमा दाँतको उपचार भएपछि घाइते केसीले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिए । “जिल्लाबाहिर हुने उपचार यहाँ सम्भव रहेछ । आफ्नै जिल्लामा उपचार गर्न पाइयो”, घाइते केसीले भने ।

निक साइमन्स इन्स्टिच्युट, प्रवासी म्याग्देली तथा उपचारमा खुशी भएका बिरामीको सहयोगमा प्राप्त उपकरणहरुले समेत उपचारमा सहज भएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । बेनी अस्पताल ४ नं प्रदेशको तेस्रो उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button