पोखरामा पर्यटन विकासको लागि ड्याम साईडवासी अग्रसर

पोखरा न्युज – १७ माघ ।

कुनै समय पर्यटनको हव भनेर चिनिने पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ मा रहेको ड्याम साईड क्षेत्रलाई पुरानै स्थितिमा फर्काउन ड्याम साईडवासी अग्रसर भएका छन् ।

ड्यामसाईड क्लबको आयोजनामा ड्यामसाईड क्षेत्रको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा मंगलबार जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यटन व्यवसायीहरुले भनाइहरु राखेका थिए ।

सहभागीहरुले ड्याम साईड र लेकसाईडलाई फेवातालको किनारै किनार पैदल तथा पिच वाटो वनाउनु पर्ने, प्रयोेग विहिन खाली जग्गामा कुनैपनि प्रकारको भौतिक निर्माण गर्नु नहुने, ति स्थानहरुमा वालमैत्री पार्क तथा खेलकुदको लागि प्रयोगमा ल्याउनुपर्ने लगाएतका भनाई राखेका थिए ।

साथै फेवातालमा माछापुच्छ्रे तथा अन्नपुर्ण हिमालको छाँया लालुपाते फुलको बिचमा देखिने गरि फोटो खिच्न मिल्ने ठाउँ लोप भएकोले उक्त ठाउँलाई व्यापक प्रचारप्रसार गरी पर्यटकलाई सजिलै जान मिल्ने गरि मुलकुलोमा पुल बनाउनु पर्ने सहभागीले वताएका थिए ।

कार्यक्रममा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारीले कुनै पनि क्षेत्रको विकासको खाका कोर्दा फराकिलो भएर सोच्नु पर्ने, दिर्घकालीन योजना अनुरुप कार्य गर्नु पर्ने वताउँदै पोखराको समग्र विकासको लागि पोखराबाट २०-२५ मिनेटमा पुग्न सकिने स्थानहरुको विकास गर्नुपर्ने र त्यस अनुरुप आफुले योजना वनाई सकेको वताए ।

साथै पोखराको पुरानो पर्यटकिय स्थल ड्यामसाईडले समयको गति पहिचान गर्न नसक्दा पछि परेको आभास आफुले गरेको वताउँदै पर्यटन विकासको लागि स्थानिय पर्यटन व्यवसायी जागरुक हुनुपर्ने वताए। उनले स्थानियबासीले ल्याएका विकासका हरेक कार्यमा भरपुर साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले महानगरपालिकाले ध्यान दिनु पर्ने कतिपय विकास निर्माण र सरसफाईका कार्यमा क्लबले धेरै काम गरेको स्मरण गर्दै मुस्ताङचोकमा रहेको तिनकुने पार्कलाई वालमैत्री पार्क वनाई व्यवस्थित गर्न वडाले योजना अगाडी बढाई सकेको जानकारी दिएका थिए ।

त्यसै गरी वडा नं. ६ का अध्यक्ष जगतबहादुर पहारीले वडा नं. १७ र ६ लाई फेवातालको किनारमार्फत जोड्न सकेमा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो पहल गर्ने वताए ।

ड्याम साईड क्लबबाट फुटबल खेल शुरु गरेका पुर्व राष्ट्रिय खेलाडि वसन्त गौचनले फुटबल खेलको विकासको लागि फुटवल एकेडेमी स्थापनाकाृ लागि प्रस्ताव पेश गर्दै खेलाडिहरुलाई प्रशिक्षण गराउन खेल मैदानको प्राप्त भएपछि एकेडेमीको काम सुरु गरिने वताए ।

सो अवसरमा जापानको फनरोज एकेडेमीका संचालक जोन हिरानो र रिस्सो विश्वविद्यालयका प्रमुख प्रशिक्षक ताकासी तोकाई रेनलाई कार्यक्रममा धन्यवाद सहित स्वागत गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागीले उठान गरेका विषयहरु आयोजकले जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरेका थिए भने जनप्रतिनिधिहरुले सम्भावित ठाउँहरुको स्थलगत अध्ययन गर्न क्लबलाई छिट्टै पैदल यात्राको कार्यक्रम आयोजन गर्न सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, बुद्धिजिवि तथा पर्यटन व्यवसायीहरु वच्चुराम तिवारी, वलराम थापा, कर्ण गुरुङ, राजु सापकोटा, गौरवराज भण्डारी, आत्मा तुलाचन, शिवकुमारी श्रेष्ठ, किर्तिवल्लभ त्रिपाठी, विकास केसीलगाएतले भनाई राखेका थिए ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममाथी प्रकाश र स्वागत क्लबका सचिव रमेशप्रसाद वरालले गरेका थिए भने संचालन सल्लाहकार केशवराज वरालले गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button