थ्रीस्टार र पुलिस क्लव आहा ! रारा गोल्ड कपको फाइनलमा भिड्ने

डीएनबी, पोखरा – १८ माघ।

आहा ! रारा गोल्ड कपको उपाधीका लागि विभागीय टिम नेपाल पुलिस क्लवबिरुद्ध थ्रीस्टार क्लवको प्रतिस्प्रर्धा हुने भएको छ। उपाधीसहित ५ लाख ५१ हजार पुरस्कारको लागि दुबै टिमले शनिबार पोखरा रंगशालामा फाइनल खेलमा प्रतिस्प्रर्धा गर्ने भएका छन्।

पोखरा रङ्गशालामा जारी प्रतियोगिता अन्तरगत विहीबार भएको प्रतिस्पर्धात्मक खेलमा धरान फुटवल क्लव सुनसरीलाई १–० गोलले पराजित गर्दै पुलिसले थ्रीस्टारसंगको फाइनल भेट पक्का गरेको हो। बुधबारको पहिलो सेमिफाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धरा क्लवलाई थ्रिस्टारले ५–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरिसकेको छ।

पुलिसको जितमा पाएको पेनाल्टीको अवसरलाई सुमन लामाले सदुपयोग गरी निर्णायक गोल गरेका हुन्। खेलको २१ औं मिनेटमा धरानका डिफेन्स रोमन लिम्वुले पुलिसका रबि पासवानलाई डीबक्सभित्र लडाएपछि रेफ्री सुदिशकुमार पाण्डेले पुलिसलाई दिएको पेनाल्टीको अवसरलाई लामाले सदुपयोग गरेका हुन्। रेफ्री पाण्डेले रोमनलाई पहेंलो कार्ड समेत देखाए।

रेफ्री पाण्डेले दिएको पेनाल्टीप्रति धरानले विरोध जनाएको थियो। धरानको अपिलप्रति रेफ्री पाण्डेले कुनै सुनवाई नगरेपछि धरानले मैदान छाड्ने चेतावनी दिदैं केहिबेर खेल स्थगित भएको थियो। तर, धरानका प्रशिक्षक अर्जुन राईले मैदान नछाडि खेल खेल्न निर्देशन दिएपछि पुनः खेल सञ्चालन भएको थियो। विहिबारको खेलमा धरानका आधा दर्जन आक्रमणहरु विफल पारेका पुलिसका गोलरक्षक शत्रुघन चौधरी म्यान अफ दी म्याच बन्न सफल रहे। उनलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिएको छ।

धरानले विहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि फुटवलमा नतिजा ल्याउन गोल गर्नैपर्ने हुँदा अन्ततः पुलिससंग धरान पराजित हुनु परयो। आहा ! राराको इतिहासमा दोश्रो पटक सेमीफाइनल पुगेको धरान यस पटक  सेमिफाइनलबाटै यात्रा टुङ्ग्याउनु परयो। धरानले खेलको ३२ औं मिनेटमा गोल गर्ने राम्रो अवसर गुमायो। वर्तमान राईको कर्नर वललाई विष्णु सुनारले प्रहार गरेको हेडर बिपक्षी गोलकिपर शत्रुघन चौधरीले विफल पारे। ३७ औं मिनेटमा निशान लिम्वु बिपक्षी गोलकिपर चौधरीसंगको वान भर्सेज वानमा समेत गोल गर्न चुके। धरानका निशान लिम्वु, रोमन लिम्वु, मनोज राई लगायतका केही खेलाडीका अवसरहरु सदुपयोग हुन सकेन। पहिलो हाफमा पुलिसलाई दवाबमा पारेको धरानले दोश्रो हाफमा पनि उत्तिकै राम्रो खेल प्रदर्शन गर्दा धरानको पक्षमा दर्शकहरुले हुटिङ गरेका थिए। रक्षापंक्ति रणनीतिमा उत्रिएको पुलिसले केही गोल गर्ने अवसरहरु पाएपनि गोल हुन नसक्दा गोल अन्तर फराकिलो पार्न भने सकेन। खेलमा पुलिसका अजित भण्डारी, सुमन लामा, तेज तामाङले गोल गर्ने केही अवसरहरु सदुपयोग गर्न सकेनन्।

धरान फुटवल क्लव सुनसरीका म्यानेजर अशोक राईले रेफ्रीका गलत निर्णयका कारण आफूहरु पराजित हुनुपरेको दाबी गरे। उनले भने ‘हामीले राम्रो खेल खेल्दा खेल्दै रेफ्रीको गलत निर्णयको कारण हामी हार्नु परयो।’ नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले खेल आफ्नो योजनाअनुसार खेलाडीले खेलेका कारण जित भएको बताए। ‘हाम्रो खेल जित्नु नै मुख्य उद्धेश्य थियो, त्यो सफल भयो,’ उनले भने, ‘यसमा म खुशी छु, आजको जितले आगामी दिनमा खेल खेल्नको लागि खेलाडीहरुको मनोवल उच्च भएको छ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button