सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन

पोखरा न्युज – १९ माघ ।

पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालन गरिएको हो ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । विश्व सीमसार दिवसका अवसरमा आजबाट पुनःसञ्चालन गरिएको निकुन्जको पूर्वी सेक्टरमा रहेको उक्त सूचना केन्द्रबाट पर्यटकले निःशुल्क रुपमा सूचना लिन सकिन्छ । उक्त केन्द्रमा २०५० सालको बाढीले क्षति पुरयाएकामा गएको साउनको बाढीले थप डुबानमा पारेको र उचित मर्मत नहुँदा ओझेलमा परेको थियो ।

अब भने नियमितरुपमा यसलाई सञ्चालन गर्ने चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले बताए । करिब रु तीन लाखको लागतमा केन्द्र सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

यो केन्द्रमा चितवन निकुञ्जको वस्तुस्थितिका साथै वन्यजन्तु, गैंँडा, अर्नाको स्थानान्तरणको सूचना र सीमसारका जीवबारे जानकारी पाइन्छ । वन्यजन्तु अपराध सम्बन्धी कानूनी व्यवस्था, संरक्षण र अपराध विरुद्ध सूचना दिनेलाई पुरस्कारका दिने कुरालगायत सूचना पनि यहाँ छ ।केन्द्रमा गैँंडा, गौरीगाई, मृग, अर्ना, बाघको पञ्जालगायत वन्यजन्तुका अखेटोपहार समेत राखिएको छ ।

पर्यटन व्यवसायी तथा संरक्षणकर्मी वासु ढुंगाना, टीका गिरी तथा सदर चिडियाखाना जाउलाखेलका प्रमुख डा चिरञ्जीवी पोखरेलले सूचना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

यसैबीच वश्व सीमसार दिवसको अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङले जानकारी दिए । यहाँ तीन दिने कार्यक्रमसहित सीमसार दिवस मनाइँदै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button