पोखरामा दि युनाइटेड गोल्डमार्ट पीसीसी क्रिकेट कप सुरु

पोखरा न्युज – २४ माघ ।

पोखरा क्रिकेट क्लब (पिसीसी) को आयोजनामा पोखरामा मंगलबारदेखि दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब क्रिकेट कप २०७४ सुरु भएको छ ।

आयोजक पिसीसी र खबरा क्रिकेट क्लब बेनीबीचको उद्घाटन खेल पिसीसीले सहजै जित्यो । एकपक्षीय खेलमा पिसीसीले खबरालाई १८२ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिसीसीले जम्मा तीन विकेटको क्षतिमा पूरा ओभर खेल्दै २४० रन बनायो । उसका लागि रिजन प्रजु, क्याप्टेन अनिल गुरुङ र प्रदीप राउतले अर्धसतक पूरा गरे । म्यान अफ दि म्याच अनिलले अविजित ७२ रन तथा रिजनले ७३ रन बनाए । प्रदीप राउतले ५० रनको योगदान दिए । खबराका तर्फबाट अनिश खड्का, अक्लेश खड्का र सज्जन श्रेष्ठले एक-एक ओभर लिए ।

२४१ रनको लक्ष्य पछ्याएको खबरा १३.३ ओभर खेल्दा ५७ रन जोड्दै अलआउट भयो । एक खेलाडी बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । सन्तोष घिमिरेले २३ रन जोडे भने सबिन जिसीले ९ र अक्लेशले ८ रन जोडे । पिसीसीका ऋषिकेश शर्माले ३ विकेट लिए । प्रदीप रावत र चन्द्र गुरुङले २-२ विकेट लिन सफल भए ।

दोस्रो खेलमा पनि पाहुना टोली बाग्लुङको टीम बाहिरियो । पोखराको सांग्रिला क्रिकेट क्रिकेट क्लबले धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ४४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सांग्रिलाले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १२१ रनको योगफल तयार पा¥यो । उसका लागि किरण क्षेत्रीले अविजित ३१ र मिलन थापाले अविजित २८ रनको योगदान दिए । सुदीप पौडेलले १७ रन जोडे । रुपेश सिंहले ३ विकेट, सन्तोष र राजनको नाममा २-२ विकेट रह्यो ।

१२२ रनको चुनौति पेश गरेको सांग्रिलासामु बाग्लुङको एकमात्र टोली धौलागिरीको प्रयास सफल भएन । १६.५ ओभरमा ७८ रन जोड्दैमा खेलाडी अलआउट भए । धौलागिरीका सुमन गहतराजले ४२, किसान खड्काले १० र कप्तान दीपक कुँवरले ७ रन जोडे । सांग्रिलाका कप्तान विपिन खत्रीले ५ विकेट लिए भने शिव सुवेदी र समिर सेनले २-२ विकेट लिए । खेलमा ३.५ ओभरमा ४ रन खर्चेर ५ विकेट लिने विपिन म्यान अफ दि म्याच बने ।

यसअघि, प्रतियोगिताको उद्घाटन मुख्य प्रायोजक दि युनाइटेड गोल्डमार्ट प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्यले गरे । उनले स्थानीय स्तरबाटै प्रयास भए मात्र योग्य खेलाडी तयार हुने भएकाले युवाहरुको अभियानलाई साथ दिएको बताए । विशेष अतिथि ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारीले यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय स्थानीय क्लबहरु झनै सक्रिय बन्दै यसरी प्रतियोगिता आयोजना गर्दा खुशी लागेको बताए । उनले क्लबका गतिविधिलाई भौतिक, प्राविधिक क्षेत्रबाट पूर्ण सहयोग रहँदै आएको र रहने प्रतिबद्धता जनाए । सो अवसरमा संघका पूर्व अध्यक्ष एवं क्रिकेट मैदान निर्माण समिति संयोजक समेत रहेका प्रा.डा. वीरेन्द्र सिंह गुरुङ, युनाइटेड गोल्डमार्टका निर्देशक महेन्द्रमान गुभाजु लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष निकेश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन विजय भुजेलले गरेका थिए । प्रतियोगिताको दोस्रो दिन बुधबार समूह बी अन्तर्गतका टीमहरुबीच प्रतिष्पर्धा हुनेछ । पहिलो खेल बिहान ८ बजेदेखि पोखरा क्रिकेट एकेडेमी र अरण्यज्योति क्रिकेट क्लब पोखराबीच हुनेछ । बुद्ध क्रिकेट क्लब म्याग्दी र राइजिङ क्रिकेट एकेडेमी पोखरा पूर्वान्ह ११ बजेदेखि खेल्नेछन् ।

माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टीमको सहभागिता रहेको प्रतियोगिता संयोजक क्लबका उपाध्यक्ष उत्सव शाक्यले बताए । टी–२० फम्र्याटमा सञ्चालित नकआउट प्रतियोगितामा पिन्क बल प्रयोग भएको छ ।

विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७ हजार ५ सय बराबरको क्रिकेट किट् पाउनेछन् भने बेस्ट बलर, बेस्ट ब्याट्सम्यानलाई जनही पाँच हजार साथमा हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने क्लबले जनाएको छ ।

‘दि’ युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक तथा जिल्ला क्रिकेट संघ कास्कीको प्राविधिक सहयोग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button