आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव – उपराष्ट्रपति पुन

पोखरा न्युज – २६ माघ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका लागि हुनुपर्छ, सबै तहले त्यसमा ध्यान दिनुहुनेछ ।” आफ्नो समुदाय र देशको समृद्धिका लागि भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । उनले पछिल्लो अवस्थामा राज्यको प्रशासनिक क्षेत्रमा आदिवासी जनजाति, अल्पसंख्यक र पिछडिएका क्षेत्रका समुदायको सहभागिता बढ्दै जानु सराहनीय भएको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङले प्रदेश नं ३ को राजधानी काभ्रे हुने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताए ।

प्रदेशसभा सांसद रत्न ढकालले तामाङको बाक्लो उपस्थिति रहेको क्षेत्रलाई विकास गर्न आफूले सक्दो पहल गर्ने बताए ।

पूर्व सांसद तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज सूर्यमान दोङ, रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा मानवशास्त्री डा मुक्तसिंह तामाङ, लेखक दुपवाङ्गेल मोक्तान, गायिका मनिला सोताङ र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाली समाजमा अतुलनीय योगदान दिएको भन्दै उपराष्ट्रपति पुनले सम्मान गरेका थिए । कार्यक्रममा कलाकार उदय सोताङ, मनिला सोताङ, मीना निरौलालगायतले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button