पर्वत महाशिला गाउँपालिकाका विद्यार्थीहरुलाई हरेक दिन निःशुल्क खाजा

पोखरा न्युज , २७ माघ ।

पर्वत जिल्लाको महाशिला गाउँपालिकाको सामुदायिक विद्यालयहरुमा शिशुदेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीहरुले दिवा खाजाको सुविधा पाउने भएका छन्।

गाउँपालिकाले विद्यार्थीहरुलाई आकर्षित गर्न गाउँपालिकाका सबै सामुदायिक विद्यालयका शिशु कक्षादेखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको हो। एक विद्यार्थीहरुले हरेक दिन १० रुपैयाँका दरले खाजाको सुविधा पाउने छन्। महाशिला गाउँपालिकाको गाउँ परिषदमार्फत विद्यार्थीलाई दिवा खाजा खुवाउन बजेटसमेत विनियोजन भएको छ। गाउँपालिकाका २९ सामुदायिक विद्यालयमा शिशु कक्षादेखि ३ सम्म खाजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिएका छन्। गाउँपालिकामा ६ मावि र २३ निमावि तथा प्रावि छन्।

‘हरेक दिन प्रतिविद्यार्थी रु १० का दरमा खाजा दिने व्यवस्था मिलाएका छौँ,’ अध्यक्ष पौडेलले भने, ‘विद्यार्थीको संख्या यकिन भएपछि सबै विद्यालयमा यो लागू हुन्छ।’ दिवा खाजाको व्यवस्थापछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने र विद्यालय छाड्ने दर कम हुने विश्वास लिइएको छ। दिवा खाजा कार्यक्रमका लागि चालू आवमा रु १५ लाख खर्च हुने भएको छ।

‘निजी विद्यालयमा पढ्ने बालबालिकालाई घरबाटै खाजा बनाएर वा पैसा दिएर पठाइएपनि सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय जान नमाने पिटेर वा यातना दिएर पठाउने गरिन्छ,’ अध्यक्ष पौडेलले भने, ‘यो विभेद अन्त्य गर्नका लागि दिवा खाजाको व्यवस्था गर्न लागेका हौँ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button